भारत–पाक द्वन्द्वले खाडीमा श्रम बेच्न जाने नेपालीलाई मार, जहाजको समय र भाडा दुबै बढ्यो

काठमाडौँ । भारत र पाकिस्तानबीच सैन्य द्वन्द्वका घटना बढ्न थालेपछि नेपालीहरुलाई खाडी लगायत केही पश्चिमी देशहरुमा आउजाउ गर्न समस्या परेको छ ।
धेरै नेपाली श्रमिकहरु पुगेको पश्चिम एसियाका खाडी देशहरुमा पुग्ने समय र लागत दुबै बढेको छ । यसले दुईचार पैसा आम्दानी गर्न विदेशमा रोजगारी खोज्दै पुगेका नेपाली थपि मारमा पर्ने भएका छन् ।
भारत र पाकिस्तानले एकअर्काका विमान सेवाविरुद्ध आफ्नो हवाई क्षेत्र प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् । त्यतिमात्रै होइन, दुई देशको सीमा क्षेत्र र वरपर क्षेप्यास्त्र तथा अन्य युद्ध जोखिमका कारण कतिपय अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले पाकिस्तानको आकाशमार्ग छलेर आफ्ना सेवा सञ्चालन गर्न थालेका छन्।
नेपालबाट अत्यधिक उडान हुने गन्तव्य हो दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को उक्त शहर पुग्न काठमाडौंबाट उडेको जहाज नेपाली भूमि छाडेपछि भारत, पाकिस्तान र इरानको आकाशहुँदै ओमनको खाडी तरेर दुबई पुग्थ्यो । यसका लागि ४ घण्टा १० मिनेट जति समय लाग्ने गरेको थियो ।
तर अब पाकिस्तान छिर्न असम्भव भएपछि दिल्लीको होइन, बम्बैको रूटबाट जहाज जानुपर्ने भएको छ । सिमराबाट निस्केपछि सिधै पश्चिम जाने प्लेन बम्बै घुमेर अरब सागरहुँदै ओमनको खाडीकै बाटो दुबई पुग्नु पर्ने भएको छ । यसो गर्दा उडान समय नै ५ घण्टा १ मिनेट पुगेको छ ।
खाडी क्षेत्रबाट नेपालमा आउने विमानहरू इरान, इराक, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै सिमराको आकाशबाट पस्ने गर्थे । यहाँबाट ती गन्तव्यतर्फ जाँदा चाहिँ कुनै सिमरा र महेन्द्रनगर गरी दुई नाकाबाट निस्कन्थे ।
जुन बाटो गए पनि ती जहाजहरु दिल्लीको आकाशमा पुग्थे र त्यसपछि कराची वा अफगानिस्तान हुँदै जाने गर्थे। तर अब भारत र पाकिस्तानको आकाशमार्ग बन्द हुने अवस्था आउँदा ती उडानलाई नराम्रो असर परिरहेको छ ।
मूल रुपमा टर्किश एअरलाइन्स, जजिरा एअरवेज, कुवेत एअरवेज, कतार एअरवेज लगायत विमान कम्पनीहरु यो समस्याबाट ज्यादा प्रभावित बनेको विमानस्थल प्रशासनले जनाएको छ । यी विदेशी विमान सेवाले नेपाल र पश्चिम एसियालाई जोड्न थुप्रै उडान भर्दै आएका छन् ।
नेपालकै विमानसेवाहरूलाई पनि यस घटनाले नराम्रो असर पारेको छ । नेपाल वायुसेवा निगम र हिमालयन एअरलाइन्सले पनि यूएई, साउदी अरब तथा कतारमा उडान गर्छन्। उनीहरुले प्रयोग गर्ने बाटो पनि अब बदलिइसकेको छ ।
गत बुधबार भारतले पाकिस्तानमा ‘लक्षित हमला’ गरेपछि सुरु भएको दुई देशबीचको द्वन्द्वले त्यस क्षेत्रको आकाश निकै असुरक्षित बनेको छ । ती दुबै देशले सर्वसाधारणलाई बोक्ने जहाजहरु चलाउन र सीमा क्षेत्र निकट रहेका विमानस्थलहरु सञ्चालन गर्न पनि बन्देज गरेका छन् ।
त्रिभुवन विमानस्थल प्रशासनलाई उद्धृत गर्दै बीबीसी नेपाली सेवाले लेखेको छ, ‘हामीले टर्किश एअरलाइन्ससँग बुझ्दा काठमाण्डू आउँदा एक घण्टा र काठमान्डूबाट जाँदा दुई घण्टा ढिलाइ हुन थालेको छ ।’
यसबाट बढेको भाडाको मार पनि खाडीमा ‘घोटिन’ गएका वा जाँदै गरेका नेपालीले व्यहोर्नु परिरहेको छ ।