आर्थिक अभावका कारण सुदूरपश्चिमका ४१ वटा रेडियो स्टेशन बन्द

काठमाडौँ । आर्थिक अभावका कारण २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिन नसक्ने परिस्थिति सृजना भएपछि सुदूरपश्चिमका एफएम र रेडियो स्टेशनहरू बन्द भएका छन् ।
विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेपछि हालसम्म ४१ वटा रेडियो स्टेशन बन्द भइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म दर्ता भएका १ सय २० एफएम रेडियो स्टेशनमध्ये ४१ वटा रेडियो स्टेशन बन्द भएको नेपाल पत्रकार महासङ्घका महासचिव शिवराज भट्टले जानकारी दिएका छन् । आर्थिक अभावका कारण २५ प्रतिशत रेडियोले कर्मचारी एवं पत्रकारलाई तलब दिन नसक्ने परिस्थिति सृजना भएपछि एफएम रेडियो स्टेशन बन्द भएकाे भट्टले बताएका छन् ।
“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले समानुपातिक रुपमा विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन”, महासचिव भट्टले भने, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको दिगो आर्थिक व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ । ”
“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छन्, सरकारी निकायबाट खासै सहयोग छैन , विज्ञापन आउन छोडिसक्यो”, रेडियो सेभेन स्टार बैतडीका सञ्चालक अमर भट्टराईले जानकारी गराएका छन्।
रेडियो टिकापुर कैलालिका प्रमुख एकेन्द्र तिमल्सीनाले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार पनि नफस्टाउँदै आम्दानी दिगो स्रोत नहुँदा आफूहरूले सङ्कटको सामना गर्नुपरेको गुनासो गरेका छन् ।
रेडियोकर्मी शिव ओलीले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनका लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दर निर्धारण गरिनुपर्नेमा जोड दिए ।