जलविद्युत क्षेत्रमा एनएमबि बैंकको थप लगानी, लाप्चे र चेपे आयोजना अघि बढ्दै « Arthapath.com
२८ बैशाख २०८२, आईतवार

जलविद्युत क्षेत्रमा एनएमबि बैंकको थप लगानी, लाप्चे र चेपे आयोजना अघि बढ्दै



काठमाडौं । दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४२ मेगावाट क्षमताको लाप्चे तामाकोशी जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा पाँचवटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्न सहमति जनाएका छन् ।

उक्त परियोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ भने नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर, एभरेष्ट र डायनामिक हाइड्रो ईनर्जी प्रालि सहभागी हुनेछन् ।

आयोजनाको कुल लागत करिब ७ अर्ब रुपैयाँ रहनेछ, जसमा ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी हुनेछ ।

यसैबीच, एनएमबि बैंकले एकल लगानीमा सञ्चालन गर्न लागिएको २ मेगावाट क्षमताको चेपे खोला क्यास्केड जलविद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।

आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रुपैयाँ रहेको छ भने एनएमबि बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्नेछ ।

यी दुवै आयोजनासँग सम्बन्धित ऋण सम्झौता पत्रमा एनएमबि बैंकको तर्फबाट चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग, दिनेश दुलाल र डायनामिक हाइड्रो ईनर्जी प्रालिको तर्फबाट अध्यक्ष मोहन बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता आदान–प्रदान कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरे र अध्यक्ष मोहन बिक्रम कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सीईओ घिमिरेले एनएमबि बैंकले हाइड्रोपावर परियोजनामा प्राविधिक, वातावरणीय तथा जोखिम व्यवस्थापन पक्षहरूमा गहिरो अध्ययन गरी सुनिश्चित अनुगमन र समाधान प्रक्रिया अपनाउने जानकारी दिए ।

त्यसैगरी, अध्यक्ष मोहन बिक्रम कार्कीले एनएमबि बैंकसँग यो आयोजनासहित ८ वटा जलविद्युत परियोजनाका लागि ऋण लिइरहेको र लाप्चे तामाकोशी आयोजना तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एनएमबि बैंकले अहिलेसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्