वडाध्यक्षहरूकाे भेला गर्दै एमाले, प्रधानमन्त्री ओलीले संबाेधन गर्ने « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

वडाध्यक्षहरूकाे भेला गर्दै एमाले, प्रधानमन्त्री ओलीले संबाेधन गर्ने



काठमाडौं,२ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालयको छैटौँ पूर्ण बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकले जेठ ११ र १२ गते वडाध्यक्षहरूको भेला गर्ने निर्णय गरेको छ । भेला पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गोदावरीको भ्यु भृकुटीमा सम्पन्न गर्ने निर्णय भएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमार लामाले जानकारी दिइन् ।
यसै गरी प्रचार कार्यशाला जेठ २२ र २३ आयोजना गर्ने बैठकले निर्णय गरेको छ । कार्यशालाले वाग्मती प्रदेश पार्टीको प्रचार योजना बनाउने छ ।

बैठकले तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानको समीक्षा सहित रिपोर्ट तयार गर्ने निर्णय गरेको छ । त्यस्तै २०८२ को सदस्यता नवीकरण र विस्तारको प्रगतिका बारे पनि बैठकमा छलफल भएको छ ।

बैठकमा पार्टी प्रदेश कमिटीको पूर्ण बैठक आह्वानका सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो । त्यस्तै आउने भदौ महिनामा हुने पार्टीको विधान महाधिवेशनमा प्रदेश कमिटीको तर्फबाट राय सुझाव सङ्कलन कार्यदल निर्माणको काम पनि भएको छ ।

यसैगरी वाग्मती प्रदेश समृद्धिको खाका तयार गर्न बनेको कार्यदल तयार गरेको प्रतिवेदन प्रकाशन सम्बन्धमा छलफल हनुका साथै प्रदेश कमिटी अन्तर्गत खाली रहेका पदहरूमा पदपूर्ति सम्बन्धमा छलफल गरी निर्णय समेत भएको छ ।

बैठकमा बोल्दै पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टीका नेता कार्यकर्ताहरू जनताको बिचमा जानु पर्ने बताए ।

पार्टीका नियमित काम र अभियानका काम देखिने गरी फरक र विशेष हुनुपर्नेमा उहाँको जोड छ । ‘नियमित काम गर्न पनि अभियान चाहियो भने पार्टी काम अघि बढ्दैन’, उनले भने ।


पार्टी पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टीको वर्ग संघषको अहिलेको मूल थलो संसदीय निर्वाचन भएकोले त्यसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । यसको लागि पार्टी एक भएर परिचालित हुनु पर्नेमा उहाँले जोड दिए ।

जरा अभियान जनतासम्म पुग्नु पर्ने बताउँदै उहाँले त्यति नभए पनि पार्टी सदस्यका घरसम्म पुग्नु पर्ने उहाँको धारणा छ । पार्टी सदस्यता विस्तारको लागि जनताकै घरमा पुग्नु पर्नेमा उहाँले जोड दिनुभयो । आफ्ना पार्टीका सदस्य कहाँ छन् भन्ने कुरा घर घरमा गएर खोज्नु पर्ने उहाँले बताए ।

बैठकमा पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले पार्टीमा अरूलाई गाली गरेर आफू उम्कने बानी छाड्नु पर्ने बताउनुभयो । पार्टीलाई सक्रिय बनाउन सदस्यता नवीकरण र विस्तारमा ज्यान दिनु पर्नेमा उहाँले जोड दिए ।

वाग्मती पार्टीको राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्व निक्कै रहेकोले वाग्मती प्रदेश पार्टीले त्यही अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वाग्मतीले कस्तो बनाउने भन्ने कुरा संगठनका नेताहरूको काममा भर पर्ने ढुङ्गेलले बताए ।


प्रतिक्रिया दिनुहोस्