लिफ्ट बिग्रिएपछि खानेपानीको हाहाकार « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लिफ्ट बिग्रिएपछि खानेपानीको हाहाकार



काठमाडौं। जाजरकोटको भेरी नगरपालिका–१२, बिसामेचौरका स्थानीयले प्रयोग गर्दै आएको लिफ्ट खानेपानी तथा डिप बोरिङका दुई वटा योजना बिग्रिएपछि खानेपानीको हाहाकार भएको छ ।

गाउँमा खानेपानी नभएर बर्सौंदेखि भेरी नदीको धमिलो पानी पिठ्युँमा बोकेर खाने गरेका ३५ घरपरिवारलाई सहज बनाउन कर्णाली प्रदेश सरकारको कृषि विकास कार्यालयमार्फत १५ लाख रुपियाँको बजेटमा २०७९ असारमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको लिफ्ट खानेपानी आयोजना बिग्रिएको हो ।

उक्त गाउँबस्तीका लागि २०७७ सालमा कर्णाली प्रदेश सरकारबाट डिप बोरिङका लागि ३५ लाखको दुई वटा योजना नियमित रूपमा सञ्चानलमा नआएपछि खानेपानीमा थप समस्या भएको स्थानीयको भनाइ छ ।

भेरी नगरपालिका–१२ का वडाध्यक्ष भक्तबहादुर मल्लका अनुसार प्राविधिक र सरोकारवालाको लापर्बाहीका कारण खानेपानीको समस्या भएको हो । भेरी नगरपालिका तथा पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा बिसामेचौर, लाजेगाउँ, रातापोखरा गरी ३ गाउँमा पानी पुर्‍याउने गरी सीमा र गाउँमुनिको भेरी नदीमा सर्भे गरिएको छ । गाउँबस्तीमा पानी पुर्‍याउन पहल भइरहेको वडाध्यक्ष मल्लले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्