ट्रम्पको सत्तारोहणपछि कमजोर बन्दै अमेरिकी डलर, नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ? « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

ट्रम्पको सत्तारोहणपछि कमजोर बन्दै अमेरिकी डलर, नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?



काठमाडाैं । सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेयता अमेरिकी डलर कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकको विनिमय दर विवरण अनुसार, गत जनवरीमा १ अमेरिकी डलर बराबर १३७.९९३ नेपाली रुपैयाँ रहेको डलर भाउ फेब्रुअरी १० सम्म आइपुग्दा रु. १४०.०५ सम्म पुगेर उच्चतम बिन्दुकायम गरेको थियो। यस अवधिमा अमेरिकी डलरको मूल्यमा लगभग १ प्रतिशतको वृद्धि देखिएको थियो ।

तर त्यसयता ट्रम्पको नेतृत्वमा भएका राजनीतिक र आर्थिक घटनाक्रमले डलरलाई लगातार दबाबमा राखेको छ । जनवरी २७ देखि फेब्रुअरी १७ सम्म ट्रम्प प्रशासनद्वारा प्रस्तावित कर कटौती नीति र फेडरल रिजर्भका अध्यक्ष जेरोम पाउलप्रति गरिएको तीव्र आलोचनाले बजारमा अन्योलता निम्त्यायो भने यसले लगानीकर्ताहरूको मनोबलमा असर पार्दै डलरको मूल्यमा दबाब सिर्जना गर्‍यो ।

फेब्रुअरीको अन्त्यदेखि मार्च ३१ सम्म अमेरिकी सरकारी ऋण ४३६.२ ट्रिलियन डलर पुग्दा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू चिन्तित बने । मूडीजले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछि डलर थप कमजोर बन्यो र यसले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको विश्वासमा आघात पु¥यायो । मार्चमा १ अमेरिकी डलरको मूल्य १३७.०९ नेपाली रुपैयाँमा झर्‍यो।

एप्रिल ७ देखि मे यता राष्ट्रपति ट्रम्पद्वारा प्रस्तुत नयाँ व्यापार नीतिहरू र सार्वजनिक ऋणमा भइरहेको निरन्तर वृद्धिले डलर कमजोर बनेको छ । मे २० मा अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ। एक महिनाअघि सो दर रु. १३७.८५ सम्म पुगेको थियो भने यस अवधिमा न्यूनतम दर रु. १३४.८४ मा झरेको थियो। यो अवस्थालाई हेर्दा डलरको मूल्यमा करिब ०.९३ प्रतिशतले गिरावट आएको देखिन्छ।

ट्रम्प अमेरिकी सत्तामा आएयता ४ महिनाको अवधीमा अमेरिकी डलरको मूल्यमा लगभग ३ प्रतिशत गिरावट आएको छ। अमेरिकी सरकारका यी नीतिहरूले अमेरिका–चीन व्यापार तनाव पुनः चर्काउने सम्भावना बढाएको र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सर्न थालेको विश्लेषण गरिएको छ।

नेपालकाे अर्थतन्त्रमा प्रभावः आयात सस्तो, तर प्रतिस्पर्धा घट्दै

पछिल्लो ४ महिनायता अमेरिकी डलरको मूल्य नेपाली रुपैयाँको सापेक्षमा घट्दै गएको छ । २०२५ फेब्रुअरी १० मा १ डलर बराबर रु. १४०.०५ पुगेको विनिमय दर हाल (२०२५ मे १९) मा रु. १३६.४९८ मा झरेको छ। डलरको यस्तो निरन्तर गिरावटले नेपालको आयात–निर्यात, वैदेशिक रोजगारी, मुद्रास्फीति, र विदेशी मुद्राको सञ्चिति जस्ता प्रमुख क्षेत्रमा प्रत्यक्ष असर परेको छ ।

नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलर कमजोर हुनु सकारात्मक पक्ष हो । किनभने यसले मुलुकको आन्तरी मुद्रास्फिति घटाएको छ । डलरको भाउ घट्दा आयातित सामानको लागत घटेको छ भने यसले पेट्रोलियम पदार्थ, तेल, औषधि, मोबाइल, गाडी र कपडा जस्ता उपभोग्य वस्तुको मूल्यमा कमी आएको छ । यसबाट उपभोक्ताले सस्तोमा सामान पाएका छन् । नेपाल राष्ट्र बैैंकको तथ्यांक अनुसार बजारमा चैत महिनाको मूल्य वृद्धि ३.३९ प्रतिशतमा झरेको छ ।

अर्कोतर्फ भने यसबाट नेपाली उत्पादनहरूको निर्यात प्रतिस्पर्धा घट्ने खतरा बढेको छ। विदेशी बजारमा नेपाली सामानको मूल्य तुलनात्मक रूपमा महँगो हुनु जान्छ । हाल नेपालबाट हस्तकलाका वस्तु, तयारी पोशाक, जडिबुटि, चियालगायतका वस्तुहरु अमेरिका, अष्ट्रेलिया, युरोपलगायतका देशहरुमा निर्यात हुने गरेका छन् । डलर कमजोर हुँदा प्रतिस्पर्धी मुलुकहरू जस्तै बङ्गलादेश, भियतनाम वा भारतसँग तुलना गर्दा नेपाली वस्तु महँगो देखिन थाल्छ। यस्तो अवस्थामा अमेरिकी खरिदकर्ताले नेपालको सट्टा ती मुलुकबाट सामान लिन सक्ने सम्भावना बढ्छ।

यस्तै डलरमा भुक्तानी पाउने निर्यातकर्ताहरुले पाएको रकम नेपाली रुपैयाँमा परिणत हुँदा उनीहरुको नाफा घट्छ भने यसले रोजगार र श्रमिकको आम्दानीमा समेत असर पर्न सक्ने खतरा बढ्छ ।

वैदेशिक रोजगारमा असर

डलरको मूल्य घट्दा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको वास्तविक आम्दानी घट्छ । यसले परिवारको खर्च, बचत र ऋण तिर्ने क्षमतामा प्रत्यक्ष असर पार्छ । वैदेशिक रोजगारीको आकर्षणमा गिरावट आउन सक्छ भने राष्ट्र बैंकको मुद्रा सञ्चिति र अर्थतन्त्रमा दबाब बढ्न सक्छ। रेमिट्यान्स घट्दा स्वतः विदेशी मुद्रा सञ्चितिमा दवाब सिर्जना हुन्छ ।

यस्तै नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको खर्च भने घट्छ । भिजा आवेदन शुल्क, कलेजमा बुझाउनु पर्ने ट्युसन शुल्क लगायतमा विद्यार्थीहरुलाई राहत महशुस हुन्छ ।


प्रतिक्रिया दिनुहोस्