सेरेस ग्रुपको ‘स्मार्ट इभी’ क्रान्ति : नाफा र सेयर दुवै उकालो, नेपालमा तीन मोडेल ल्याउने तयारी « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

सेरेस ग्रुपको ‘स्मार्ट इभी’ क्रान्ति : नाफा र सेयर दुवै उकालो, नेपालमा तीन मोडेल ल्याउने तयारी



काठमाडौं । चीनको इन्टेलिजेन्ट तथा न्यू इनर्जी भेहिकल उद्योगको प्रमुख कम्पनी सेरेस ग्रुपले २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ ।

कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले नाफा २४१ प्रतिशत वृद्धि गर्न सफल भएको छ ।

उच्च नाफा वृद्धिले प्रतिस्पर्धात्मक बजारमा सेरेस ग्रुपलाई चीनकै अग्रणी इनोभेटिभ निर्माता कम्पनीहरूको अग्रपङ्तिमा उभ्याएको छ ।

सेरेसको कुल बिक्री राजस्व पनि ३ अर्ब अमेरिकी डलर नाघेको छ । कम्पनीका अनुसार ऊर्जा–कुशल र स्मार्ट डिजाइन भएका सवारीहरूको उच्च माग नै यस उपलब्धिको मूल कारण हो ।

आय प्रतिवेदन सार्वजनिक भएसँगै सेरेसको सेयर मूल्यमा ३ प्रतिशत बढेको देखिन्छ । लगानीकर्ताको कम्पनीप्रति बढ्दो विश्वास र भविष्यप्रति देखिएको आशावादिताले बजारमा सकारात्मक संकेत दिएको छ ।

सेरेस ग्रुपले आफ्ना आगामी मोडेलहरूमा अझ लामो रेन्ज, उच्च पर्फर्मेन्स र स्मार्ट फिचरहरू समावेश गर्दै अगाडि बढ्ने योजना सार्वजनिक गरेको छ । यी प्रविधिहरू कम्पनीको वातावरणमैत्री लक्ष्य र चीनको ‘कार्बन न्युट्रालिटी’ अभियानसँग मेल खाने खालका हुने कम्पनीको भनाइ छ ।

नेपालमा तीन नयाँ विद्युतीय मोडेल ल्याउने

विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीन वटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा गरेको छ । यसले नेपालमा विद्युतीय सवारीको प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

योसँगै सेरेस ग्रुपले चीनबाहिर समेत इभि रूपान्तरणमा आफ्नो नेतृत्वलाई पुष्टि गर्दैछ । हालै मात्र कम्पनीको सेरेस थ्री मोडेलले इन्डोनेसियामा तीन वटा प्रतिष्ठित पुरस्कार जित्दै आफ्नो नवप्रवर्तन क्षमताको पुनः प्रमाण दिएको छ ।

सेरेस ग्रुपले चीनको लक्जरी सवारी बजारमा बीएमडब्लू र मर्सिडिज जस्ता विश्वस्तरीय ब्रान्डहरूलाई समेत पछाडि पार्दै अग्रता लिएको छ । नवप्रवर्तन, दीगो उत्पादन प्रणाली र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित कम्पनीको रणनीतिले विश्वव्यापी बजारमा समेत प्रभाव जमाउँदै लगेको छ ।


प्रतिक्रिया दिनुहोस्