युनाइटेड सिमेन्टकाे महिला आत्मनिर्भर अभियान, ४२ जनालाई निःशुल्क सिलाई–कटाई तालिम

काठमाडाैं । युनाइटेड सिमेन्ट र धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा निशुल्क तीन महिने आधारभूत सिलाई कटाई र दुई महिने एडभान्स सिलाई कटाई प्रशिक्षण कार्यक्रमको समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
धुनिवेशी नगरपालिका वडा नं ९ जुगेडीमा रहेको के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धुनिवेशी नगरपालिका वडा नं. ९ को सहकार्यमा ४२ जना स्थानिय महिलाका लागि निशुल्क ३ महिने आधाभूत र दुई महिने एडभान्स सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ ।
यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु हो ।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्का महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिलेपनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताएका छन् ।
सोहि अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्टलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो ३ महिने आधाभूत र २ महिने एडभान्स तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताएका छन् । सो कार्यक्रम धुनिबेशी नगर पालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
युनाइटेड सिमेन्ट्स लिमिटेडले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।