तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिनको हिरासत अनुमति

काठमाडौं । तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको थियो । यस्तै, आगजनी र लुटपाटसमेत भएको थियो । घटनापछि प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान गरिरहेको छ । २८ जना विरुद्ध राज्यविरुद्धको अभियोगमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रदर्शनका दिन प्रसाईं निषेधित क्षेत्रतर्फ मोटरसाइकलमा पुगेपछि भिड झन उग्र बनेको दाबी छ । उनी त्यसपछि भारत भागेका थिए, तर पछि पक्राउ परी काठमाडौं ल्याइएका हुन् ।
प्रहरीले अबको दुई दिनभित्र अनुसन्धान टुंग्याएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । कानुन अनुसार ६० दिनभित्र अभियोजनपत्र अदालतमा दर्ता गर्नुपर्छ ।