डाइनामिकमा अत्याधुनिक टीएमएस सुरु, आइतबारदेखि डीजीहबको ‘एयर ट्रेड’ प्रणाली « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

डाइनामिकमा अत्याधुनिक टीएमएस सुरु, आइतबारदेखि डीजीहबको ‘एयर ट्रेड’ प्रणाली



काठमाडौं । डाइनामिक सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं ४४) आइतबारदेखि डीजीहबद्वारा विकसित अत्याधुनिक ‘एयर ट्रेड’ ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मार्फत सेयर कारोबार गर्न सुरु गर्ने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हालसम्म वाईको सर्भिसको टीएमएस प्रयोग गर्दै आएको डाइनामिक ब्रोकरले उक्त प्रणालीसँगको सहकार्य अन्त्य गर्दै डीजीहबको नयाँ प्रणालीमा आफूलाई आबद्ध गरेको हो ।

ब्रोकरका अनुसार आगामी आइतबार (जेठ ११) बाट करिब ४ लाख लगानीकर्ताहरूले डीजीहबको अत्याधुनिक टीएमएस ‘एयर ट्रेड’ प्रयोग गरी सेयर खरिदबिक्री गर्न सक्नेछन् ।

कम्पनीका अनुसार लगानीकर्ताहरूले वेब, डेस्कटप र मोबाइल एप भर्सनमार्फत सजिलै कारोबार गर्न सक्ने विशेष रहेका छन् ।
‘एयर ट्रेड’ प्रणालीमा पारदर्शिता, डाटा सुरक्षाको उच्च मापदण्ड, गोपनीयताको सुनिश्चितता र प्रयोगकर्ता–मैत्री इन्टरफेसलाई प्राथमिकता दिइएको छ ।

लगानीकर्ताहरूले यस प्रणालीमा सेयर बिक्रीपछि तुरुन्तै सोही रकमले पुनः सेयर खरिद गर्न सक्ने, लेजर ब्यालेन्सअनुसार कोल्याटरल रियल टाइममा देख्न सक्ने, एउटै लगइनबाट धेरै युजरको ट्रेड गर्न सक्ने तथा अर्डर बास्केट, मार्केट डेप्थ, अलर्ट सिस्टम, रियल टाइम खरिद–बिक्री सूचनालगायत आधा दर्जनभन्दा बढी फिचर प्रयोग गर्न सक्नेछन् ।

यसका साथै ‘लिन्क एन्ड डक’ र ‘मल्टी–विन्डो’ फिचर तथा मल्टी–एक्सचेन्ज सपोर्टजस्ता प्राविधिक पक्षलाई पनि समेटिएको छ । साथै, कारोबारपछि हुने हिसाब–किताब तथा रिपोर्टहरू हेर्नको लागि क्लाइन्ट लगइन सुविधा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

डाइनामिक ब्रोकरले नयाँ टीएमएस प्रणालीलाई आफूले प्रविधिमा गरिरहेको लगानीको निरन्तरता भनेको उल्लेख गर्दै लगानीकर्ताहरूलाई अझ सहज, सुरक्षित र द्रुत सेवा दिने लक्ष्यका साथ यो परिवर्तन गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्