सवारी चालककाे अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने

काठमाडौं । २८ लाख सवारी चालककाे छाप्न बाँकी रहेका अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ ।
अनुमतिपत्रको छपाइ लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुक्षण मुद्रण केन्द्रबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले सझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि उनीहरूबिच समझदारीपत्र आदानप्रदान भएको थियो ।
विभागका महानिर्देशक पोखरेलका अनुसार समझदारीपत्रमा हस्ताक्षर भएसँगै सवारी चालक अनुमतिपत्र छपाइको बाटो खुलेको बताएका छन् । उनले अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने जानकारी दिएका छन् । २ सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
दुवै पक्षबिचको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्ने बताइएको छ । अब सुरक्षण मुद्रण केन्द्रले क्युआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्ने छ ।
नवीकरण गरिएकोसमेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्दै आएको अहिलेको अवस्थामा यस सम्झौता अनुसार सवारी चालक अनुमतिपत्र छापिएपछि यस अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।
तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेशसमेत गरिएको छ । अहिले सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ ।