नेपालले असारदेखि बाङ्ग्लादेशलाई ४० मेगावाट बिजुली बेच्ने

काठमाडाैं। नेपालले आउँदो असार एक गतेदेखि बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्ने तयारी गरेको छ ।
नेपाल, भारत र बाङ्ग्लादेशबीच गएको असोजमा त्रिपक्षीय सम्झौता भई बाङ्ग्लादेशलाई नेपालबाट ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको थियो।
उक्त सम्झौताअनुसार नेपालले आगामी असार १ गतेदेखि ६ महिनासम्म बाङ्ग्लादेशलाई चौबीसै घण्टा विद्युत् निर्यात गर्नेछ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यो निर्यात वर्षायामसँगै सुरु गरिनेछ, जसमा पर्याप्त जलविद्युत् उत्पादन हुने भएकाले निर्यात सहज हुने अपेक्षा गरिएको छ।
गत कार्तिक ३० गते एक दिन परीक्षणस्वरूप विद्युत् प्रवाह गरेर प्रयोगात्मक रूपमा लाइन परीक्षण गरिएको थियो।
यद्यपि नेपाल र बाङ्ग्लादेशबीचको भौगोलिक दूरी केवल ४० किलोमिटर भए पनि सो क्षेत्रमा प्रत्यक्ष प्रसारण लाइन नभएकाले नेपालको बिजुली ढल्केबरबाट भारतको बहरमपुर हुँदै बाङ्ग्लादेशको भेरामारा पुग्ने व्यवस्था मिलाइएको छ।
प्राधिकरणले नेपाल–भारत र नेपाल–बाङ्ग्लादेशबीच प्रसारण क्षमता थप विस्तार गर्ने विषयमा छलफल चलिरहेको जानकारी दिएको छ, यद्यपि त्यसका लागि केही समय लाग्ने देखिन्छ।
बाङ्ग्लादेशलाई बेचिने विद्युत् प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा सम्झौता भएको हो, जुन हालको विनिमय दरअनुसार नेपाली करिब ८ रुपैयाँ ७९ पैसा पर्छ।
नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरु गरिसकेको छ। अघिल्लो शनिवार (जेठ ३)देखि रातको समयमा भारततर्फ दैनिक डेढ सयदेखि दुई सय मेगावाटसम्म निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ ।
वर्षासँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन बढ्ने हुँदा यस समयमा बिजुली खेर जाने जोखिम पनि भने कायमै रहेको छ।