बीमा नविकरण गर्न चाहने ग्राहकलाई हिमालयन लाइफको विशेष छुट

काठमाडाैं। हिमालयन लाइफ इन्स्याेरेन्स लिमिटेडले व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क(ब्याज जरिवाना) मा विशेष छुटको व्यवस्था गरेको छ।
कम्पनीले साविककाे पूर्व प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा गराई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क(ब्याज जरिवाना) मा विशेष छुट दिने भएकाे हाे ।
२०८२ साल जेष्ठ ११ गतेदेखि ३० गतेसम्मको अवधिमा बीमालेख नविकरण वा पुनर्जागरण गर्ने बीमितहरूलाई लाग्ने बिलम्व शुल्क (ब्याज तथा जरिवाना) मा छुट दिने निर्णय गरेको कम्पनीले जनाएकाे छ ।
उक्त अवधिमा नविकरण गरिने बीमालेखहरूमा बीमालेख व्यतित भएको समयको आधारमा छुट प्रदान गरिनेछ। पाँच वर्षसम्म व्यतित भएका बीमालेखमा लाग्ने ब्याज तथा जरिवाना पूर्णरूपमा (शत् प्रतिशत) माफ गरिनेछ भने पाँच वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखमा ६० प्रतिशतसम्म छुट दिइनेछ।
यस्ता छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागू हुने कम्पनीले जनाएको छ। साथै, छुट लिएर नविकरण गरिएका बीमालेखहरू बीमालेख नविकरण भएको मितिदेखि दुई वर्षभित्र सरेण्डर गर्न चाहेमा, छुट दिइएको ब्याज तथा जरिवाना रकम फिर्ता कट्टा गरिने व्यवस्था गरिएको छ।
बीमा कम्पनीले बीमितहरूलाई समयमै बीमाशुल्क तिर्न र नविकरण प्रक्रियामा सहभागी भई छुटको लाभ उठाउन अनुरोध गरेको छ।
व्यतित बीमालेखले बीमा जोखिम बहन नगर्ने भएकाले, ढिलो नगरी नविकरण गरी आर्थिक सुरक्षा सुनिश्चित गर्न कम्पनीको सुझाव छ।