वैदेशिक रोजगारीको प्रलोभन देखाइ करिव १८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न देशहरूमा आकर्षक तलबमा रोजगारी दिलाइदिने आश्वासन दिई लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको जाहेरीको आधारमा उनीहरू पक्राउ परेका हुन् ।
अनुसन्धानपछि ठगीमा संलग्न रहेको ठहर भई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ परेका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा थप अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बाराको कोहल्बी नगरपालिका–२ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–५ मा बसोबास गर्दै आएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन्। उनले यूएईमा रोजगारी पठाइदिन्छु भन्दै पीडितसँग करिब ५ लाख ७३ हजार रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै, अर्को आरोपी पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२७ मा बस्दै आएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ रहेका छन्। उनले लाटभिया रोजगारीको नाममा १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले बेरोजगार युवाहरूलाई विदेशमा आकर्षक तलब हुने जागिरको लालच देखाउँदै विश्वास दिलाएका थिए। तर, लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
प्रहरीले वैदेशिक रोजगारीमा जान चाहने सबैलाई सावधानी अपनाउन, कुनै पनि एजेन्ट वा व्यक्तिबाट भुक्तानी गर्दा आधिकारिक कागजात माग गर्न र आवश्यक परेमा सम्बन्धित निकायमा पुष्टि गर्न आग्रह गरेको छ।