गभर्नर पौडेलले कार्यकालको शुरुवातमा अघि सारे सेयर बजार बढाउने नीति

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको शुरुवातमा सेयर बजार बढाउने नीति अघि सारेका छन् ।
आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत गभर्नर पौडेलले यस्तो व्यवस्था गरेका हुन् ।
तेस्रो त्रैमासिक समिक्षामा विद्ययमान सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाइ १०० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ ।
यस्तै तेस्रो समिक्षामा लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने समेत उल्लेख गरिएको छ ।