बेलायती अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा अनुवाद « Arthapath.com
१७ जेष्ठ २०८२, शनिबार

बेलायती अर्थशास्त्री बट्लरको ‘व्यापार तथा भूमण्डलीकरण’ नेपालीमा अनुवाद



काठमाडौं । अब नेपाली पाठकले अन्तर्राष्ट्रिय व्यापार र भूमण्डलीकरणका गहिरा विषयहरू नेपाली भाषामै पढ्न पाउने भएका छन्। बेलायती अर्थशास्त्री इमन बट्लरद्वारा लिखित चर्चित पुस्तक ‘व्यापार तथा भूमण्डलीकरण’ को नेपाली अनुवाद भएकाे पुस्तक प्रकाशनमा आएको छ । पुस्तकको अनुवादक सुरथ गिरी हुन् ।

पुस्तकले अन्तर्राष्ट्रिय व्यापारका सिद्धान्त, अर्थशास्त्रीय पक्ष र राजनीतिक सन्दर्भलाई सरल र सुस्पष्ट ढंगले प्रस्तुत गरेको छ। उपभोक्ता तथा उत्पादकको भूमिकालाई व्यापारले कसरी असर गर्छ भन्नेबारे गहन विश्लेषण गरिएको यस पुस्तकमा स्वतन्त्र व्यापारका फाइदाका साथै त्यसप्रति गरिने आलोचनाहरू जस्तै रोजगारीको अवसर बाहिर जानु, सुरक्षा चिन्ता, गुणस्तरको सवालबारे पनि निष्पक्ष छलफल गरिएको छ।

पुस्तक विशेषगरी अर्थशास्त्रमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माता र अन्तर्राष्ट्रिय व्यापारबारे बुझ्न चाहने सबैका लागि उपयोगी छ।

इमन बट्लर बेलायतका प्रख्यात अर्थशास्त्री हुन्। उनी एडम स्मिथ इन्स्टिच्युटका सह-संस्थापक र निर्देशक हुन्, जसले स्वतन्त्र बजार अर्थतन्त्रको वकालत गर्दै आएको छ। उनले लेखेका पुस्तकहरू विश्वभरका विश्वविद्यालयमा अध्ययन गरिन्छन्। बट्लरले एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक लगायतका महान् उदार विचारकहरूका सिद्धान्तलाई पुस्तकमा सरल ढंगले प्रस्तुत गरेका छन्।

व्यापारका ऐतिहासिक पाटोदेखि आजका विश्वव्यापी मूल्य श्रृंखला र बहुराष्ट्रिय कम्पनीहरूको प्रभावसम्म समेटिएको यो पुस्तक नेपाली भाषामा सुलभ हुनुले अर्थशास्त्रप्रति रुचि राख्ने हजारौं पाठकलाई अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा सोच्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्