क्यानडामा पठाइदिने भन्दै ७ लाख ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

काठमाडाैं । वैदेशिक रोजगारीको नाममा सात लाख रुपैयाँ ठगी गर्ने एक महिला काठमाडौंबाट पक्राउ परेकी छन्।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलब र अवसरको प्रलोभन देखाउँदै क्यानडामा रोजगारी दिलाइदिने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएकी महिलालाई प्रहरीले पक्राउ गरेको हो।
पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा सम्झना राई नाम गरेकी ३४ वर्षीया महिला ठगीमा संलग्न रहेको पुष्टि भएपछि उनलाई २०७९ साल जेठ १२ गते काठमाडौं महानगरपालिका–१६ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
उनी स्थायी रूपमा खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५ की बासिन्दा हुन् भने हाल टोखा नगरपालिका काठमाडौंमा बसोबास गर्दै आएकी थिइन्।
राईले क्यानडामा रोजगार दिलाइदिने भन्दै पीडितसँग ७ लाख रुपैयाँ लिएकी थिइन्। तर, न त रोजगारीको व्यवस्था गरियो, न नै विदेश पठाउने प्रक्रिया अघि बढाइयो। बरु उनी पीडितहरूसँग सम्पर्कविहीन बनेकी थिइन्।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाएको जनाएको छ।