नेपाल भित्रिए चार ठूला ब्रान्डका अत्याधुनिक इलेक्ट्रिक एसयूभी, कसले कुन मोडल ल्याए ?

काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय गाडी (ईभी) को आकर्षण बढ्दो छ । ईभीमा उपभोक्ताको आकर्षण दिनानुदिन बढ्दै गएपछि प्रमुख अटोमोबाइल ब्रान्डहरूले नयाँ–नयाँ इलेक्ट्रिक मोडलहरू नेपाल भित्र्याउन थालेका छन् ।
यसै सन्दर्भमा हालसालै मात्र तीन ब्रान्डले चार मोडलहरु नेपाल भित्र्याएका छन् । महिन्द्रा, बीवाइडी, एमजी तथा फोर्थिङका आधिकारिक वितरक कम्पनीहरूले नयाँ मोडेलका ईभीनेपाल ल्याएका हुन् । ती कम्पनीहरुले पछिल्लो समयमा अत्याधुनिक प्रविधि र स्टाइलयुक्त चार नयाँ इलेक्ट्रिक एसयूभीहरू नेपाली बजारमा ल्याएका छन् ।
यी नयाँ मोडलका गाडीहरू केही दिनअघि मात्र नेपाल भित्रिएका हुन् । नेपाल भित्रिएका नयाँ मोडलका गाडीहरु विशेषगरि आगामी साउनमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्सपो’ मा प्रदर्शनमा राख्ने योजना समेत बनाएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले काठमाडौंको भृकुटीमण्डम साउन २१ गतेदेखि २५ गतेसम्म एक्सपो आयोजना गर्दैछ ।
हाल महिन्द्राले दुई नयाँ इलेक्ट्रिक एसयूभी ‘बीई ६’ र ‘एक्सयूभी ९ई’ ल्याएको छ । एमजी ब्रान्डको तर्फबाट पारामाउन्ट मोटर्सले विन्डसर इभी नेपाल ल्याएको छ । यता, नयाँ बीवाइडी ‘सिलायोन ७’ र चिनियाँ ब्रान्ड फोर्थिङको फ्राइडे एसयूभी पनि हालै नेपाल भित्रिएका छन् ।
महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी, लाइफटाइम ब्याट्री वारेन्टी
भारतीय बजारमा निकै चर्चित भएका महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी नेपाल भित्रिएका छन् । महिन्द्राको नेपाली आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले दुई अत्याधुनिक ईभी मोडल, ‘बीई ६’ र ‘एक्सयूभी ९ई’ ल्याएको छ । महिन्द्राको ‘बीई६’ दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
परीक्षण ड्राइभको लागि भित्र्याइएका ‘बीई६’ र ‘एक्सईभी ९ई’ दुवैमा शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ ।

‘एक्सईभी ९ई’को उच्च भेरियन्टमा १९९ किलोवाट मोटरको विकल्प उपलब्ध छ । यी गाडीहरूमा एलएफपी (लिथियम फल्फेट) केमिस्ट्रीको ब्याट्री प्याक प्रयोग गरिएको छ, जुन टिकाउ र सुरक्षित मानिन्छ । महिन्द्राले दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाट क्षमताका ब्याट्री प्याक उपलब्ध गराएको छ ।
५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपी पावर र ७९ किलोवाट प्याकले २८६ एचपी पावर र ३८० एनएम टर्क उत्पादन गर्दछ। यी गाडीहरूले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.७ सेकेन्डमा पुरा गर्न सक्ने क्षमता राख्छन् ।
अत्याधुनिक १७५ किलोवाट क्षमताको अल्ट्रा फास्ट चार्जर प्रयोग गरी यी एसयूभीहरूलाई २० मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न स किने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘बीई६’ सिंगल चार्जमा ६८२ किलोमिटर र ‘एक्सईभी ९ई’ ६५६ किलोमिटर यात्रा गर्न सक्षम छ । यसरी लामो दूरी तय गर्न सक्ने क्षमताले यी गाडीहरूलाई उपभोक्ताका लागि अत्यन्तै आकर्षक विकल्प बनाएको छ ।
महिन्द्राले यी इलेक्ट्रिक एसयूभीमा लाइफटाइम ब्याट्री वारेन्टी प्रदान गरेको छ, जसले दीर्घकालीन उपयोगकर्तालाई भरपर्दो अनुभव दिनेछ । यसका साथै, आधुनिक सुरक्षा तथा आरामदायी सुविधाहरूले यात्रालाई सहज र सुरक्षित बनाएका छन् ।
एमजी विन्डसर इभी : स्टाइल, शक्ति र सुविधा एकसाथ
एमजी ब्रान्डको तर्फबाट पारामाउन्ट मोटर्सले विन्डसर इभी नेपाल ल्याएको छ । एमजी विन्डसर इभी अब एक्साइट, एक्सक्लुसिभ र एसेन्स गरि तीन भेरियन्टमा उपलब्ध छन् ।
भारतमा निर्मित यो स्टाइलिस इभीले ३८ किलोवाट आवरको ब्याट्रीबाट एकपटकको चार्जमा ३३२ किमी रेञ्ज दिन्छ । चार्जिङको लागि ७.४ किलोवाट एसी चार्जरबाट साढे ६ घण्टा र ५० किलोवाट डीसी चार्जरबाट ५५ मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
१०० किलोवाट मोटर पावरसहित यो गाडीले १३४ बीएचपी पावर र २०० एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार अटोमेटिक ट्रान्समिशन र फ्रण्ट ह्वील ड्राइभ अप्सनसहित उपलब्ध विन्डसर इभी दैनिक यात्रा र अफ–रोड दुबैका लागि उपयुक्त छ ।
४२९५ मिमी लामो, २१२६ मिमी चौडा र १६७७ मिमी अग्लो यो गाडीमा ५ जना सहजै अट्छन् । १८६ मिमी ग्राउण्ड क्लियरेन्स र २७०० मिमी ह्विलबेसले नेपाली सडकमा सन्तुलित यात्रा सुनिश्चित गर्छ ।
६०४ लिटरको बूट स्पेस, पाँच ढोका र पावर स्टियरिङ, क्रुज कन्ट्रोल, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट, की–लेस इन्ट्री, र पावर आउटलेट जस्ता फिचर्सले गाडीलाई थप प्रयोगमैत्री बनाउँछ ।
इन्टेरियरमा ७ इञ्चको डिजिटल क्लस्टर, १०.१ इञ्चको टचस्क्रिन, ब्लुटुथ, रेडियो र चार स्पिकरले मनोरञ्जनको सुविधा दिन्छ । सुरक्षाको लागि ६ एयरब्याग, एबीएस, ब्रेक असिस्ट, टायर प्रेसर मोनिटर, स्पीड अलर्ट र चाइल्ड सेफ्टी लक जस्ता विशेषता समावेश छन् ।
नयाँ बीवाइडी ‘सिलायोन ७’ पनि नेपाली बजारमा
नयाँ बीवाइडी ‘सिलायोन ७’ पनि नेपाली बजारमा प्रवेश गरेको छ । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले सिलायोन ७ नामक नयाँ इभी मोडल नेपाली बजारमा ल्याएको हो । यो मोडलले बीवाइडीको उन्नत प्रविधिलाई झल्काउने विश्वास गरिएको छ ।
चिनियाँ ब्रान्ड फोर्थिङको फ्राइडे एसयूभी
चिनियाँ ब्रान्ड फोर्थिङको फ्राइडे एसयूभी पनि नेपाल भित्रिएको छ । लक्ष्मी ई–मोबिलिटीले उक्त एसयूभी नेपालमा ल्याएको हो । यद्यपि, हाललाई दुई वटा मात्र फ्राइडे एसयूभी आयात गरिएको कम्पनीले जनाएको छ । यो एसयूभी डिजाइन र प्रविधिको सन्दर्भमा विशेष ध्यान खिच्न सफल भएको बताइएको छ ।
