आइतबार भित्रिँदै छ ‘बर्खा’, यो साल हिले–दशैँ हुने मौसम विदको चेतावनी

काठमाडौँ । नेपालको पुरापुर अर्थतन्त्र र झण्डै दुई तिहाई मानिसको निर्भरता कृषिमा आश्रित छ । यति भईकन पनि कुल खेतीयोग्य जमिनको एकतिहाइ भागमा अझै सिँचाइ पुग्न नसकेकाले नेपालमा आकासेपानीको अत्यधिक महत्त्व छ।
त्यसैले हरेक वर्ष मनसुन अर्थात् बर्खा प्रणालीको अवधि तथा व्यवहारले नेपालीहरूको बालीनाली तथा देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ।
बर्खामा बाढीपहिरोका कारण धनजनको ठूलो क्षति हुँदै आएकाले पनि स्वाभाविक रूपमा कहिलेदेखि मनसुन सुरु हुन्छ र कत्रो पानी पर्छ भन्ने जान्न मानिसहरू इच्छुक देखिन्छन्।
यसपालिको मनसुनबारे सरकारी निकायले प्रक्षेपण गरिसकेको छ। जल तथा मौसम विज्ञान विभागले हालै जारी गरेको सूचनामा नेपालमा यो वर्ष औसतभन्दा १३ दिन अगावै अर्थात् जेठ १८ गते आइतबार (जुन १) मनसुन प्रवेश हुने जनाइएको छ।
नेपालमा बङ्गालको खाडीबाट मनसुन प्रवेश गर्छ। यसपालि मनसुनको अवधि १२२ दिनको हुने र असोज १४ (सेप्टेम्बर ३०)मा मात्रै मनसुन नेपालबाट बाहिरिने विभागको प्रक्षेपण छ।
भारतको मौसम विभागका अनुसार यो वर्ष अरब सागरबाट भारतको दक्षिणी राज्य केरलामा जेठ १० (मे २४) मा मनसुन प्रवेश गरिसकेको छ। यसपालि भारतमा औसतभन्दा आठ दिन अगाडि मनसुन प्रवेश गरेको हो।
चाँडै सुरु, ‘हिलेदशैँ’को संभावना
बङ्गालको खाडीबाट आउने प्रणालीमार्फत् भारतको आसामको केही भूभाग अनि भुटान र बाङ्ग्लादेशका पूर्वी भूभागमा मङ्गलवार (१३ जेठ) मनसुनको आगमन भएको विभागले जनाएको छ।
अर्थात् यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भूभागबाट मनसुनको प्रवेश हुने उसले बताएको छ।
प्रक्षेपणअनुसार भयो भने यसपालि दशैँमा पनि वर्षा हुने देखिन्छ। यो वर्ष दशैँको घटस्थापना असोज ६ गते र विजया दशमी असोज १६ गते परेको छ। मनसुन बाहिरिने अड्कल काटिएको दिन अर्थात् अशोज १४ गते बडा दशैँको महाष्टमी पर्व पर्छ । त्यसैले यसपालि ‘हिलेदशैँ’ हुने सम्भावना छ।
गत वर्ष २०८१ मा मनसुन २८ जेठमा प्रवेश गरेर असोज २६ मा बहिर्गमन भएको थियो। औसत अनुमानमा नेपालमा मनसुनको प्रवेश जेठको ३० गते र बहिर्गमन असोज १५ मा हुने ठानिन्छ।
तथापि हरेक साल मनसुन भित्रिने र बाहिरिने अवधि एकैनासको देखिँदैन।
कुनै वर्ष मनसुनको अवधि छोटो भएको तथ्याङ्कले देखाउँछ। वि.सं. २०३६ सालमा असार १० गते भित्रिएको मनसुन ७३ दिनपछि भदौ १९ मै बाहिरिएको थियो । तर २०७९ सालमा जेठ २२ गते भित्रिएको मनसुन १३४ दिनपछि असोज ३० गतेमात्रै बाहिरिएको थियो।
चाँडै मनसुन प्रवेश आरम्भ हुँदा खास गरी कृषि कार्यमा लागेकाहरूलाई त्यसै अनुसार खेतीपातीको समय मिलाउन आवश्यक पार्छ।
विपद्को पूर्वतयारीमा लाग्नेहरूलाई पनि बर्खाको समयको अनुमान गर्न यो जानकारीले सघाउ पुग्छ।
सरदरभन्दा धेरै पानी पर्ने
यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
‘सरदरभन्दा धेरै वर्षा हुने सम्भावना धेरै देखिएको छ। तर सामाजिक सञ्जालमा कतैकतै देखिए जस्तो ३० वर्षयताकै भीषण वर्षा हुने छ भनेर हामीले भनेका छैनौँ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन्।
सामान्यतया मनसुन सक्रिय हुँदा १,५०० देखि १,६०० मिलिमिटर वर्षा मापन गरिन्छ।
गत वर्ष पनि सरदरभन्दा धेरै पानी परेको थियो। उक्त वर्ष १,७०० मिलिमिटरभन्दा धेरै वर्षा भयो। सन् २०८० सालको बर्खामा १,५७० मिमि वर्षा भएको अधिकारीहरूले बताएका थिए।
तर पोहोर साल भने केही अनौठा घटनाक्रम पनि देखिए। असार २३ र २४ गतेबीचको २४ घण्टाभित्रमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर क्षेत्रको दोधारा वर्षा मापन केन्द्रमा ६२४ मिमिको ‘अति भारी वर्षा’ रेकर्ड गरिएको थियो ।
त्यस्तै असोज १० देखि १३ गतेसम्मको चारदिने अवधिमा भएको ‘भारी वर्षा’ले काठमाडौँ र वरपरका जिल्लामा व्यापक जनधनको क्षति भएको थियो।
२०८१ मा मनसुनको अवधिभरि भएका बाढीपहिरोका घटनामा परी ४९५ जनाको ज्यान गएको थियो। मध्ये–असोजको बाढीपहिरोमा मात्रै २५० जनाको ज्यान गएको र ४५ अर्ब रुपैयाँजतिको हानि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
‘यो वर्ष समेत सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएकाले विपद् पूर्वतयारीका निम्ति विशेष कार्ययोजना बनाइएको छ । जसलाई बुधवार कार्यकारी समितिले अन्तिम रूप दिने छ,’ प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले भने।
प्राधिकरणले गरेको प्रक्षेपणमा यो वर्ष वर्षाका कारण हुने विपद्ले ४ लाख ५७ हजार घरपरिवारका १९ लाख ९७ हजार मानिसलाई प्रभावित पार्न सक्ने अधिकारीहरुको अनुमान छ ।
तापक्रम पनि औसतभन्दा धेरै
धेरै वर्षा मात्र हुने नभई यो वर्ष औसत तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको प्रक्षेपण छ। दुबैथरी तापक्रम – अधिकतम र न्यूनतम – सरदरभन्दा धेरै हुने भनिएको छ।
‘हाम्रो यो आँकलन भनेको जेठदेखि असोजसम्मको औसत आँकलन हो। सबै महिनामा एकैनासले बढी हुन्छ भन्न सकिँदैन,’ विभागकी प्रवक्ता पोखरेलले भनिन्।
उनका अनुसार प्रारम्भिक अनुमानमा जुन (जेठ–असार) महिनामा अधिक वर्षा हुने सम्भावना धेरै छ। ‘तर बिस्तारै विविध मौसम प्रणालीहरू विकसित हुँदै जाँदा हाम्रा मासिक प्रक्षेपणहरूमा केही परिवर्तन पनि हुन सक्छ,’ उनले थपिन्।
दुई मुख्य प्रणाली ‘तटस्थ रहने’
विभागले मनसुनबारे उसले गरेको आकलन विश्वभरि तथा क्षेत्रीय स्तरका जलवायु केन्द्रहरूले गरेका हावापानी प्रारूपको आकलन अनि साउथ एशियन सीजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार गरिएको जनाएको छ।
दक्षिण एशियाली देशहरूमा आउने मनसुन प्रणालीलाई महासागरहरूमा देखा पर्ने प्रणालीहरूमा केही हदसम्म निर्भर रहन्छन्।
प्रशान्त महासागरको सतही तापक्रम तथा पर्यावरणीय अवस्थासँग सम्बन्धित ‘एल निन्यो’ तथा सदर्न असिलेशन (ईएनएसओ) र हिन्द महासागरमा देखा पर्ने इन्डिएन ओशन डाइपोल (आईओडी)का साथै अन्य वातावरणीय अवस्थाको अध्ययन गरेर आकलन गरिएको विभागको भनाइ छ।
उसले यसपालि ईएनएसओ र आईओडी दुवै प्रणाली मनसुन अवधिभरि ‘तटस्थ’ रहने बताएको छ।
उदाहरणका लागि, ‘एल निन्यो’ सक्रिय हुँदा वर्षा कम हुने र ‘ला निन्या’ सक्रिय हुँदा वर्षा धेरै हुने गरेका देखिन्छन्। ‘यसपालि ती प्रणाली तटस्थ रहने भनेको तिनमा धेरै फेरबदल नआउने भनिएको हो,’ पोखरेलले भनिन्।
तर मौसमको विषयमा किटान गरेर शत प्रतिशत प्रक्षेपण गर्न भने नसकिने उनले बताइन्।
बीबीसी नेपाली सेवाबाट साभार ।