काठमाडौं र ललितपुरमा हस्तकला प्रशिक्षण सम्बन्धी तालीम सम्पन्न « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं र ललितपुरमा हस्तकला प्रशिक्षण सम्बन्धी तालीम सम्पन्न



काठमाडाैं। काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग र नेपाल हस्तकला महासंघ–कला तथा शिल्प परिषद्को संयुक्त आयोजनामा सञ्चालित “सेरामिक वस्तु विकास, डिजाइनिङ, रंग संयोजन तथा फिनिसिङ” विषयक २१ दिने तालीम सम्पन्न भएकाे छ ।

मंगलबार काठमाडौंको गहना पोखरी, हाँडीगाउँमा सम्पन्न भएकाे उक्त समारोहमा १७ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षकलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा महासंघका अध्यक्ष विन्द्र शाक्यको सभापतित्व, तालीम संयोजक माणिकमान शाक्यको प्रशिक्षण उद्देश्यमा प्रकाश र कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यको क्रियाकलाप प्रस्तुति रहेको थियो।

त्यस अवसरमा वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले सेरामिक क्षेत्रको विकास र बजार प्रवर्द्धनका लागि महानगरबाट सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रमुख सुनिता डंगोलले प्रशिक्षार्थीहरूलाई सिकेको सीप व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै व्यवसायिक प्रयोजनका लागि माटो पेल्ने मेसिन हस्तान्तरण गरिन्।

यता नेपाल हस्तकला महासंघ उद्योग परिषद्को संयोजनमा तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा सञ्चालित १५ दिने बाँसजन्य वस्तु उत्पादन तालिम पनि मंगलबार ललितपुरको लामाटार, महालक्ष्मी नगरपालिका वडा नं ९ मा सम्पन्न भएको छ।

तालिम समापन समारोहमा केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा प्रमुख अतिथि रहेका थिए भने कार्यक्रममा महासंघका अध्यक्ष रविन्द्र शाक्यको सभापतित्व रहेको थियो।

कार्यक्रममा वडा नं ९ का अध्यक्ष, महासंघका पूर्व अध्यक्ष, पदाधिकारी, कार्य समिति सदस्य र स्थानीय प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै सीपमूलक तालीमले समुदायस्तरमा आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्