६० वर्षमा कसरी बढ्यो नेपालको अर्थतन्त्र हजार गुणा ?

काठमाडौँ । पछिल्लो ६ दशकमा नेपाली अर्थतन्त्रको आकार एक हजार गुणाभन्दा पनि धेरै विस्तार भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडा अनुसार यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०२१/२२ मा राजस्वका कारण हुने मूल्य अभिबृद्धिलाई छाड्दा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) जम्मा ५ अर्ब ६० करोड २० लाख रुपैयाँ बराबर भएको कार्यालयको तथ्याङ्क छ ।
जुन गत आर्थिक वर्ष २०८०/८१ मा ५७ खर्ब ४ अर्ब ८४ करोड ४० लाख पुगेको छ । चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार योभन्दा निकै ठूलो हुने छ ।
सरकारले यो वर्ष आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने र मुद्रास्फीति दर ३.४ प्रतिशत रहेको बताएको छ । यी दुई आँकडालाई जोड्ने हो भने अर्थतन्त्रको विस्तार ८ प्रतिशत हुने देखिन्छ । त्यसरी आगामी असार मसान्तसम्म देशको जीडीपी ६१ खर्ब ६१ अर्ब नाघ्ने अनुमान गरिएको छ ।
यदी यो अनुमान अनुसार यो सालमात्रै साडे ४ खर्ब जीडीपी थपियो भने वितेको ६० वर्षमा नेपाली अर्थतन्त्रको आकार ११ सय गुणा बढेको देखिने छ । पोहोरकै आँकडाबाट हेर्दा पनि १ हजार १८ गुणाभन्दा ठूलो भइसकेको देखिन्छ ।
यसरी अर्थतन्त्रको आकार बढ्न थालेको चाहीँ २०४५ सालतिरबाट हो भन्ने देखिन्छ । त्यसदेखि आउँदो २० वर्ष अर्थात् २०६४ सालसम्म अर्थतन्त्रको आकार एउटा लयमा बढेको छ ।
२०६५ सालभन्दा पछि चाहीँ अर्थतन्त्र ह्वात्तै चुलिएको देखिन्छ । यसले मुलुक राजनीतिक द्वन्द्वबाट शान्तिको बाटोमा आएसँगै थुप्रै संभावनाका ढोका खुलेको देखिएको छ ।
त्यसयता शिक्षामा आएको सुधार, सञ्चार प्रविधिीको पहूँच, वित्तीय पहूँचमा आएको सुधार एवम् सेवा क्षेत्रको व्यापक विस्तारले अर्थतन्त्रलाई मौलाउन सघाएको छ । साथै नेपालीहरु ठूलो संख्यामा विदेशमा काम गर्न जाने र उनीहरुको आम्दानीले देशभित्र थुप्रै परिवर्तन ल्याएको यस आँकडाले देखिन्छ ।
कोभीडको समयलाई छाड्ने हो भने २०६५ सालपछि अर्थतन्त्रले निरन्तर बृद्धिको बाटो समातेको छ । २०७२ वैशाखको महाभूकम्प र त्यसपछिको पुनःनिर्माणका लागि भएको सार्वजनिक लगानीले अर्थतन्त्रलाई चलायमान बनाएको थियो ।
पछिल्लो समय मुद्रास्फीतिको अनुपातमा अर्थतन्त्र केही कमजोर परेको देखिए पनि यो साल पुनः पुरानै रफ्तारमा फर्किएको सरकारी आँकडाहरुले देखाएका छन् ।