भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा, गाडीहरू घर र ग्यारेजमै थन्काउने

काठमाडौं । निजी सवारी साधनलाई राइड सेयरिङमार्फत सार्वजनिक यातायात सरह सञ्चालन गर्न दिने गण्डकी प्रदेश सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु भोलिदेखि सेवा बन्द गर्न लागेका छन् ।
देशभरका प्रमुख चार यातायात व्यवसायी महासंघ र मजदुर संगठनहरू एकजुट भएर भोलि अर्थात् जेठ १९ गतेदेखि गाडीहरू घर र ग्यारेजमै थन्काउने घोषणा गरेका छन् ।
संविधानको धारा ५७ र सवारी ऐन २०४९ विपरीत निजी सवारीलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने ’गण्डकी प्रदेश राइड सेयरिङ नियमावली २०८२’ लाई तत्काल खारेज गर्न उनीहरुको माग छ ।
संघीय सरकार र प्रदेश सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताएका छन् ।
उनीहरूले सात बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै प्रतिकृया नआएको गुनासो गरेका छन् । सरकारसँग पटकपटक वार्ता प्रयास गरे पनि सुनुवाइ नभएपछि यस्तो कदम चालिएको व्यवसायीहरूको भनाइ छ । यातायात ठप्प हुँदा यात्रुहरूलाई हुने असुविधाको जिम्मा सरकारले लिनुपर्ने उनीहरूको चेतावनी छ ।
‘हामी देशभरका सवारी साधन १९ गतेदेखि नचलाउने निर्णयमा पुगेका छौं । आम उपभोक्ता, यात्रु, मजदुर र कर्मचारीको सहयोगले मात्र सार्वजनिक यातायात जोगाउन सकिन्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ,‘उक्त निर्णयका कारण यात्रुवर्गमा असुविधा बढ्ने निश्चित छ । यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।’