पेट्रोलियम पदार्थकाे आयात घट्यो, राजस्वमा ६ अर्बको वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
गत आर्थिक वर्षको यहि अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयातमा १ अर्ब ३५ करोड रुपैयाँ अर्थात ०.८६ प्रतिशत गिरावट आएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल, रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल, रु ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस, रु १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ, रु ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ ।
चालु आवको १० महिनामा पेट्रोलियम पर्दाको आयातमा गिरावट आए पनि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त हुने राजस्वमा भने उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट कार्यालयले रु ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ ।
गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट रु ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो ।