कम लागत, बढी सुरक्षाः नेपाली बैंकहरूको रोजाइमा नेपालपे कार्ड « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

कम लागत, बढी सुरक्षाः नेपाली बैंकहरूको रोजाइमा नेपालपे कार्ड



काठमाडाैं । पछिल्लो समय नेपालका बैंक तथा वित्तिय संस्थाहरु धमाधम नेपालपे कार्डमा आवद्ध हुँदै गइरहेका छन्। नेपाल क्लियरिङ हाउसले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ८ वाणिज्य र ७ विकास बैंक र ५ फाइनान्स कम्पनी गरी २० बैंक तथा वित्तिय संस्थाहरु नेपाल पे कार्डमा आवद्ध भइसकेका छन् ।

वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक र लक्ष्मी सन्राइज बैंक, विकास बैंकहरुमा मुक्तिनाथ बिकास बैंक, लुम्बिनी बिकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गुडविल फाइनान्स, रिलायन्स फाइनान्स सहित ५ फाइनान्स कम्पनीसँग प्रिन्सिपल मेम्बरसिपको सम्झौता आदानप्रदान भइसकेको छ ।

एनसीएचएलले गत चैतमा एनपीएस– एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। योसँगै बैंक वित्तीय संस्थाहरु यसमा आवद्ध भइरहेका हुन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात बैंकहरुले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन्।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर आवद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिने तयारी छ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात ग्राहकका कारोबारलाई सहज बनाउने मात्र होइन, यसले डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डेटा सुरक्षा तथा डेटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्धन हुने अपेक्षा कम्पनीको विश्वास छ ।

डिजिटल कारोबारको स्वदेशी समाधान

नेपालपे कार्ड नेपाल क्लियरिङ हाउसको एनपीएस–एनसीएस पूर्वाधार अन्तर्गत सञ्चालनमा ल्याइएको हो, जुन कार्ड ट्रान्जेक्सनका लागि एकीकृत राष्ट्रिय स्विचको रूपमा तयार पारिएको छ। यस प्रणालीको कार्यान्वयनपछि देशभित्रै डिजिटल कार्ड कारोबार गर्न सकिनेछ, जसले विदेशी कार्ड प्रयोग गर्दा लाग्ने सेवा शुल्कलाई रोक्न सहयोग पु¥याउनेछ।

नेपालमै विकास भएको प्रणाली भएकाले यसले देशको आर्थिक सार्वभौमिकतालाई सुदृढ बनाउँछ। साथै, नेपालपे कार्ड अन्य अन्तर्राष्ट्रिय कार्डको तुलनामा सस्तो र लागतमैत्री विकल्प हो, जसले बैंक, व्यवसायी र सेवाग्राहीहरूका लागि थप सहजता ल्याउँने एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीलेशमान सिंह प्रधानले बताए।

यसका लागि बैंकहरूले यसको एन्ड–टु–एन्ड तथा कमर्सियल रोलआउटका लागि आवश्यक तयारी गर्नुपर्ने हुन्छ ।
प्रधानका अनुसार नेपालपे कार्डको प्रयोगले न त बैंकहरूलाई ठूलो खर्च हुन्छ, न सेवाग्राहीलाई। यो प्रणालीले नेपालकै माटो सुहाउँदो कार्ड–आधारित नयाँ प्रविधि तथा नवप्रवर्तनका लागि पनि ढोका खोलिदिने पनि उनले स्पष्ट पारे।

हाल नेपालमा कार्डको प्रयोग एटिएमबाट पैसा झिक्न मात्र सीमित भएको भन्दै, उनले नेपालपे जस्ता स्वदेशी प्रणालीले अन्य डिजिटल सेवा तथा सुविधा थप गर्ने सम्भावनालाई समेत बढाउने विश्वास व्यक्त गरे।

प्रधानले भने, “हामीले बैंकहरूसँग सहकार्य गरेर कार्डको प्रयोगमा आवश्यक कार्यहरू गरिरहेका छौं। अब बैंकहरूले आफ्ना ग्राहकहरूलाई अन्य विदेशी डेबिट वा क्रेडिट कार्ड सरह नेपालपे कार्ड पनि विकल्पको रूपमा उपलब्ध गराउन सक्नेछन्।”
नेपालमा अझै पनि धेरै नागरिकहरू औपचारिक बैंकिङ पहुँचबाट टाढा छन्। नेपालपे कार्डले ग्रामीण क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई डिजिटल भुक्तानी प्रणालीमा जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ छ ।

यस्तै, विदेशी कार्ड सेवा प्रयोग गर्दा देशले ठूलो परिमाणमा विदेशी मुद्रा गुमाइरहेको अवस्थामा, नेपालपे कार्डको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पु¥याउने सिइओ प्रधानले बताए ।

डिजिटल कारोबार प्रवद्र्धन सरकारको प्राथमिकता क्षेत्रमध्ये एक हो। नेपालपे कार्डमार्फत क्युआर, पिओएस, र अनलाइन भुक्तानी सहज रूपमा गर्न सकिने भएकाले कारोबार पारदर्शी र सुरक्षित बन्ने अपेक्षा गरिएको छ। यस प्रणालीबाट गरिने सम्पूर्ण लेनदेनको डाटा नेपालमै सुरक्षित रहने भएकाले साइबर सुरक्षाका दृष्टिकोणले पनि यो महत्वपूर्ण मानिएको छ ।

यी विविध कारणले नेपालपे कार्ड नेपालको डिजिटल अर्थतन्त्रको विकासका लागि अपरिहार्य प्रणालीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालपे कार्डलाई विश्व बजारसम्म पु¥याउने रणनीतिक कदम
अझ विशेष कुरा के छ भने, नेपालपे कार्डलाई अब अन्तर्राष्ट्रिय पहुँचसम्म पु¥याउने रणनीति समेत अगाडि बढिसकेको छ।
एनसीएचएलले भिजा, मास्टरकार्ड र युनियनपे जस्ता विश्वविख्यात कार्ड नेटवर्कहरूसँग प्राविधिक सहकार्य सुरु गरिसकेको छ। यसले नेपालमै जारी गरिएको कार्डलाई विदेशका एटिएम, पीओएस मेसिन र अनलाइन पेमेन्ट प्लेटफर्महरूमा समेत प्रयोग गर्न सक्ने बनाउनेछ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधानले नेपालपे कार्डको कमर्सियल रोलआउट गर्ने बेलामा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कहरूसँग गरिएको साझेदारीलाई नेपालभित्र विकास गरिएको कार्ड प्रणालीलाई विश्वस्तरीय पहुँच प्रदान गर्ने रणनीतिक कदमका रूपमा लिएका छन्।

उनका अनुसार, नेपालपे कार्ड लाई नेपालमै विकास गरिए पनि त्यसको प्रयोग क्षमता केवल स्वदेशमै सीमित रहने छैन। “नेपालमै नेपाली बैंकले नेपाली ग्राहकका लागि जारी गरेको कार्डलाई अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्कहरूसँगको सहकार्यको आधारमा विदेशमा समेत सजिलै प्रयोग गर्न सकिनेछ,” प्रधानले भने ।

नेपालपे कार्डको अन्तर्राष्ट्रिय साझेदारी केवल प्राविधिक उन्नति मात्र नभई नेपालको डिजिटल अर्थतन्त्रमा ऐतिहासिक फड्कोको संकेत हो। यसले नेपाललाई कार्ड निर्भरतामा आत्मनिर्भर बनाउँदै, भोलिको डिजिटल भुक्तानी प्रणालीको जग अझ मजबुत बनाउनेछ।


प्रतिक्रिया दिनुहोस्