बागलुङका स्थानीय तहलाई साढे ४ अर्ब बजेट, कसले कति पाए ? « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

बागलुङका स्थानीय तहलाई साढे ४ अर्ब बजेट, कसले कति पाए ?



काठमाडौं । सरकारले बागलुङका स्थानीय तहका लागि साढे ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ को लागि बागलुङका १० स्थानीय तहलाई सरकारले ४ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ बजेट पठाएको हो ।

अर्थमन्त्रालयका अनुसार समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान सहितको वित्तीय हस्तान्तरणका लागि सो बराबरको रकम छुट्याएको हो । चालु आवको तुलनामा भने ३.८३ प्रतिशत घटेको छ । सरकारले चालु आवको लागि बागलुङका स्थानीय तहका लागि कुल ४ अर्ब ७३ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । संघीय सरकारबाट बागलुङले पाउने बजेट १८ करोड ११ लाख रुपैयाँ घटेको हो ।

हाल बागलुङमा चार नगरपालिका र ६ वटा गाउँपालिका छन् । आगामी आवका लागि सरकारले बागलुङको चार नगरपालिकाका लागि २ अर्ब ४३ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाहरुका लागि भने २ अर्ब १२ करोड २८ लाख रुपैयाँ छुट्याएको छ । चालु आवका लागि पनि नगर र पालिका तर्फ क्रमशः २ अर्ब ७२ करोड र २ अर्ब १ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । आगामी आवका लागि बागलुङका चार नगरपालिकामा जाने बजेट २८ करोड ९२ लाख रुपैयाँ घटाएको छ ।

आगामी आवका लागि सबैभन्दा धेरै बागलुङ नगरपालिकाको लागि ९१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आवका लागि पाएको बजेटको आकार २८ करोड ३१ लाख रुपैयाँ कमी हो । चालु आवका लागि भने बागलुङ नगरपालिकाले संघीय सरकारबाट १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ बजेट पाएको थियो ।

दोस्रो धेरै जैमनी नगरपालिकाको लागि ५६ करोड ७८ लाख रुपैयाँ बजेट पठाएको छ । यता, गल्कोट नगरपालिकाको लागि भने ५३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आवमा ढोरपाटन नगरपालिकाको लागि भने ४१ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । चालु आवका लागि भने गल्कोटले ४९ करोड ८ लाख रुपैयाँ पाएको थियो भने ढोरपाटनले ५० करोड ४७ लाख रुपैयाँ पाएको थियो ।

पालिका तर्फ कसले कति पाए बजेट ?

आगामी आवमा बागलुङका ६ वटा पालिकाले संघीय सरकारबाट २ अर्ब १२ करोड २८ लाख रुपैयाँ बजेट पाएका छन् । यो चालु आवको तुलनामा भने १० करोड ८१ लाख रुपैयाँ बढी हो ।

सबैभन्दा धेरै बढीगाड गाउपालिकाले आगामी आवका लागि ५५ करोड ४८ लाख रुपैयाँ पाएको छ । चालु आवमा भने ५३ करोड ६४ लाख रुपैयाँ पाएको थियो ।

यस्तै, काठेखोला गाउपाँलिकाले ४४ करोड ५५ लाख, निसीखोला गाउँपालिकाले ३६ करोड ८३ लाख रुपैयाँ बजेट पाएका छन् । चालु आवको लागि यी दुई पालिकाले क्रमशः ४३ करोड ६ लाख र ३१ करोड ९० लाख रुपैयाँ बजेट पाएको थियो ।

आगामी आवमा सबैभन्दा कम तमानखोला गाउपालिकाले २० करोड ३४ लाख रुपैयाँ प्राप्त गरेको छ । यता, बरेङ गाउँपालिकाले भने २८ करोड ६३ लाख र ताराखोला गाउँपालिकाले २६ करोड ४५ लाख रुपैयाँ बजेट पाएको छ । जबकि, चालु आवका लागि भने तमानखोला, बरेङ र ताराखोलाका लागि क्रमशः २० करोड १२ लाख, २७ करोड ८१ लाख र २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्