अर्थशास्त्री बट्लरको ‘आर्थिक असमानता’ नेपालीमा प्रकाशित

काठमाडौं । अर्थशास्त्री बट्लरले लेखेकोको आर्थिक असमानताको मापन कठिन हुने, कर तथा कल्याणकारी लाभले वास्तविक असमानता कम गर्ने कुरालाई उल्लेख गरेको पुस्तक नेपालीमा प्रकाशित भएको छ ।
भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुट्ठीमा छ । युरोपमा १० प्रतिशत सर्वाधिक सम्पन्नहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओट्छन् ।
यो संख्या उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा लगभग ७० प्रतिशत छ भने रुस, मध्य एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकामा त्यो संख्या ७० प्रतिशतभन्दा बढी छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वका सर्वाधिक सम्पन्न १० प्रतिशतसँग विश्वको ७६ प्रतिशत सम्पत्ति निर्बाध रूपले नियन्त्रणमा छ ।
यस्ता अनेक तथ्य र अर्थशास्त्रका विभिन्न भाष्यमाथि ब्रिटिस अर्थशास्त्री इमन बट्लरले बहस गरेका छन्, आफ्नो पुस्तक ‘एन इन्ट्रोडक्सन टु इकोनोमिक इनइक्वालिटी’ मा । जसलाई भरखरै वी रिडले समृद्धि फाउन्डेशनसँगको सहकार्यमा नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको छ, यसमा अनुवादक हुन्– विप्लव प्रतीक । पुस्तकको नेपाली नाम दिइएको छ– ‘आर्थिक असमानता स् एक परिचय’ ।
आर्थिक असमानताबारे थुप्रै सैद्धान्तिक व्याख्या गरिएका छन् । कार्ल माक्र्सले यसलाई आर्थिक शक्ति र श्रमिकहरूको शोषणको परिणाम माने । नवउदारवादीहरू भने यसलाई अवैयक्तिक बजार प्रक्रियाको उद्देश्यपूर्ण परिणामा मान्न सक्छन् । व्यावहारिक रूपमा हेर्ने हो भने असमानतामा बजारको अवस्थाले प्रभाव पारेको हुन्छ ।
पुस्तकमा बट्लरले आर्थिक असमानताको मापन कठिन हुने, कर तथा कल्याणकारी लाभले वास्तविक असमानता कम गर्ने कुरा उल्लेख गरेका छन् । उनले गरीबी र असमानतालाई फरक मुद्दाका रूपमा हेरेका छन् । असमानता भनेको आय वा सम्पत्तिको असमान वितरण हो, तर गरिबी न्यूनतम जीवनस्तरको अभाव । गरिबी न्यूनीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने र असमानताको खोजीमा गलत नीति नअपनाउन उनले पुस्तकमा सुझाव दिएका छन् ।
आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ ।
यस्तै, असमानतामाथि बनेका भाष्य र तिनमाथि बहस, आम्दानीको मापनमा उठेका सवाल, समानताको नीति र राजनीतिक प्रभाव, प्रगतिशील कर प्रणाली, अन्तर्राष्ट्रिय तुलना, विभिन्न अर्थशास्त्रीको तर्क र सिद्धान्त, कार्यालयमा समान ज्याला तथा लैंगिक अन्तरको विषय पनि उठाइएको छ ।
छोटो र सरल भाषा अनुवाद गरिएको यो पुस्तक आर्थिक असमानताको बहसमा नयाँ दृष्टिकोण बन्न सक्छ । समृद्धि फाउन्डेसनसँगको सहकार्यमा वी रिडले पुस्तक प्रकाशनमा ल्याएको हो ।
को हुन् बट्लर :
यस पुस्तकका लेखक इमन बट्लर ब्रिटिस अर्थशास्त्री हुन् । उनी एडम स्मिथ इन्स्टिच्युटका सहसंस्थापक र निर्देशक हुन्, यो संस्था बजार आर्थिक नीतिसम्बन्धी बेलायतको प्रमुख थिंक ट्यांक पनि हो । सेन्ट एन्ड्रयु विश्वविद्यालयबाट अर्थशास्त्र र मनोविज्ञानमा स्नातकोत्तर गरेका उनले विद्यावारिधि पनि सोही विश्वविद्यालयबाट पूरा गरेका हुन् । सन् २०१२ मा उनले हेरियट–वट विश्वविद्यालयबाट मानार्थ डक्टर इन लिटरेचर प्राप्त गरे । बट्लरका विभिन्न शिर्षकमा ३० भन्दा धेरै पुस्तक प्रकाशित छन् ।
उनले सन् १९७० मा अमेरिकको हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेन्सन र कल्याणकारी मुद्दाहरूमा काम गरेका थिए ।
बजार अर्थतन्त्रलाई अगाडि बढाउन गरेका कामको मूल्यांकन गर्दै उनलाई ‘यूके नेसनल फ्री इन्टरप्राइज अवार्ड’, ‘फ्रिडम मेडल अफ फ्रिडम्स फाउन्डेसन’जस्ता अवार्ड दिइएको छ ।
अर्थशास्त्री एडम स्मिथको प्रतिमा निर्माणका लागि उनले आयोग बनाएर कोष जुटाएका थिए, स्मिथको प्रतिमा एडनबर्गको हाई स्ट्रिटमा राखिएको छ । बट्लरले दुई भागको ऐतिहासिक वृत्तचित्र ‘सेक्रेट्स अफ द म्याग्ना कार्टा’ पनि निर्माण गरेका छन्, जुन आन्थेम फिल्म फेस्टिभलमा पुरस्कृत भएको थियो । उनको किताब ‘फाउन्डेसन्स अफ अफ्री सोसाइटी’ले भने फिसर प्राइज पाएको छ ।
एडम स्मिथ, मिल्टन फ्रिडम्यान, एफए हायेक र लुडविग भाँ मिजेसका विचार समाविष्ट पुस्तक उनले निकालेका छन् ।शा स्त्रीय उदारवाद, जनचाहना, पुँजीवाद, प्रजातन्त्र, व्यापार, अस्ट्रियन स्कुल अफ इकनोमिक्स र महान् उदार विचारकबारे प्रारम्भिक पुस्तिका पनि छ । उनी ‘दि कन्डेन्स्ड वेल्थ अफ नेसन्स’ र ‘दि बेस्ट बुक अन दि मार्केट’ जस्ता कैयौं पुस्तकका लेखक हुन् ।
‘फोर्टी सेन्चुरिज अफ वेज एन्ड प्राइस कन्ट्रोल्स’ र अनेक भागमा प्रकाशित आईक्यू पुस्तकका उनी सहलेखक हुन् । अर्थशास्त्र, मनोविज्ञानदेखि राजनीतिसम्म विभिन्न विषयमा पुस्तक लेखेका ७२ वर्षीय बट्लर एक चर्चित लेखक हुन् । ‘द टाइम्स’, ‘द गार्जियन’ र ‘द डेली टेलिग्राफ’मा उनका लेख प्रकाशित छन् ।