काठमाडौं महानगरका पूर्व इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ४ करोड बिगो दावी

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गर्दै उनलाई पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थायी घर भएका कोइरीले २०४६ सालमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए ।
अख्तियारको अनुसन्धानमा २०७८ फागुन ३० गते सम्मको अवधिमा उनले विभिन्न बैंक, वित्तीय संस्था, सहकारी, इन्स्योरेन्स र शैक्षिक संस्थामा लगानी गरेको पाइएको छ । यद्यपि, यी लगानीहरूको स्रोत नखुलेको भन्दै आयोगले बिगो कायम गरेको हो ।
अख्तियारले कोइरीको परिवारका सदस्यका नाममा लुकाइएको सम्पत्ति पनि जफत गर्न माग गरेको छ । विशेष अदालतमा दायर अभियोगपत्रमा पत्नी मालाकुमारी महतोको नाममा रहेको सम्पत्ति पनि जफतको लागि माग गरिएको छ ।