त्रिशक्ति सेक्युरिटिज एयर ट्रेड टीएमएसमा आवद्ध हुँदै

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) अबदेखि अत्याधुनिक एयर ट्रेड प्रणालीमा आबद्ध हुँदैछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तर्गत हालसम्म वाईकोको टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) प्रयोग गर्दै आएको त्रिशक्ति सेक्युरिटिजले अब डीजीहबले सञ्चालनमा ल्याएको नयाँ एयर ट्रेड टीएमएस मार्फत कारोबार गर्ने भएको हो।
कम्पनीकाअनुसार, आगामी हप्तादेखि त्रिशक्ति सेक्युरिटिजका ग्राहकहरूले वाईको टीएमएसको सट्टा डीजीहबको अत्याधुनिक प्लेटफर्म प्रयोग गरी सेयर कारोबार गर्न सक्नेछन्।
हाल त्रिशक्ति सेक्युरिटिजमा करिब २ लाख लगानीकर्ताहरूले टीएमएस मार्फत कारोबार गरिरहेका छन्। अब ती सबै लगानीकर्ताहरूले वेब, डेस्कटप र मोबाइल एपजस्ता भर्सनबाट नयाँ टीएमएस प्रयोग गर्न पाउनेछन्। यस नयाँ प्रणालीमा लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियो, लाईभ डेटा, र अन्य आधा दर्जनभन्दा बढी सुविधाहरू प्रयोग गर्न सक्नेछन्।
साथै, सिस्टममा पारदर्शिता, डेटा सुरक्षामा उच्च प्राथमिकता, र तथ्यांक गोपनीयता जस्ता विषयहरूलाई विशेष ध्यान दिइएको बताइएको छ।
नयाँ एयर ट्रेड टीएमएसका प्रमुख विशेषताहरूमा मोबाइल, वेब र डेस्कटप भर्सन उपलब्ध हुनुका साथै रियल(टाइम लेजर ब्यालेन्स, सेयर बिक्री पछि तुरुन्तै पुनः खरिद गर्न सकिने सुविधा, बहुव्यक्ति ट्रेड गर्न मिल्ने एउटै लगइन, अर्डर बास्केट, सेयर अलर्ट सेट गर्न मिल्ने, रियल-टाइम नोटिफिकेसन, सजिलो र छिटो अर्डर राख्न सकिने, मल्टी विन्डो र मल्टी एक्सचेन्ज फिचर्स लगायतका सुविधाहरू रहेका छन्।
त्यस्तै, प्रयोगकर्ताहरूले आफ्नो चाहनाअनुसार जति पनि सेयरहरूको मार्केट डेप्थ हेर्न सक्नेछन्। साथै, सेयर खरिद बिक्री पछिको हिसाबकिताब तथा रिपोर्टहरू हेर्नका लागि क्लाइन्ट लगइनको व्यवस्था पनि गरिएको छ।
त्रिशक्ति सेक्युरिटिजको यो कदमले लगानीकर्ताहरूलाई अझ सहज, सुरक्षित र प्राविधिकरूपमा सशक्त सेयर कारोबार अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।