चिल्ला र आकर्षक चिनियाँ ईभीले विश्व बजारमा हलचल, पुराना ब्राण्ड विस्थापित हुने डर « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

चिल्ला र आकर्षक चिनियाँ ईभीले विश्व बजारमा हलचल, पुराना ब्राण्ड विस्थापित हुने डर



काठमाडौं । चीनले बनाएका इलेक्ट्रिक गाडीहरू (ईभी) हाल विश्व बजारमा निकै चर्चामा छन्। चीनमा सन् २०२३ देखि बिक्रीमा आएको सिगल नामले चिनिने एउटा कार अत्यन्तै लोकप्रिय छ।

सहरभित्र सजिलै चलाउन मिल्ने, सस्तो मूल्यमा आधुनिक डिजाइन गरिएको गाडी हो। भर्खरै यो कार युरोपमा “डल्फिन सर्फ” नामले प्रवेश गरिसकेको छ।

यस्तै, यसै साता यो कार बेलायतमा पनि लञ्च हुने भएको छ। यसको मूल्य करिब १८,००० डलर (करिब ३० लाख रुपैयाँ) हुने अनुमान गरिएको छ, जुन पश्चिमी बजारमा विद्युतीय गाडीका लागि निकै सस्तो मानिन्छ।

बिवाइडी अहिले चीनको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता कम्पनी भइसकेको छ। सन् २०२४ मा बिवाइडीले टेस्लालाई उछिनेर विश्वकै सबैभन्दा धेरै ईभी बेच्ने कम्पनी बनेको हो। दुई वर्षअघि युरोपेली बजारमा प्रवेश गरेपछि, बिवाइडी तीव्र रूपमा विस्तार भइरहेको छ। अहिले बिवाइडी बेलायतलगायत युरोपेली बजारमा पनि आफ्नो पकड बनाउने लक्ष्यमा छ।

यद्यपि यो सबैभन्दा सस्तो ईभी भने होइन, चीनको वुहानमा रेनल्ट र डेङफङको सहकार्यमा निर्मित डेसिया स्प्रिङ, र चिनियाँ स्टार्टअप लीपमोटर र स्टेलान्टिसको साझेदारीमा बनेको लीपमोटर टी ०३ झनै सस्ता छन्।

बिवाइडीले विश्व मोटर उद्योगको स्वरूप नै बदल्न सक्ने अनुमान गरिएको छ। यसैले अमेरिकी सरकार र युरोपेली संघले कडा कदम चालिसकेका छन्।

नियो, एक्सपेङ, जिकर वा ओमोडा जस्ता ब्रान्डहरू अब फोर्ड वा फक्सवागनजत्तिकै घर–घरमा चिनिने नाम बन्न सक्छन्। यिनीहरू एमजी, भोल्भो र लोटसजस्ता पुराना ब्रान्डहरूसँगै उभिएका छन्, जुन पहिले नै चिनियाँ स्वामित्वमा गइसकेका छन्।

चिनियाँ कम्पनीहरूले अहिले सस्तो र सानो डल्फिन सर्फजस्ता रनअबाउट कारदेखि लिएर, बिवाइडीको प्रिमियम ब्रान्ड याङवाङबाट बनेको गड्ढा छिचोल्ने यु ९ जस्तो महँगो सुपरकारसम्म बजारमा ल्याएका छन्।

सन् २०२४ मा विश्वभर १.७ करोड ब्याट्री र प्लग–इन हाइब्रिड कारहरू बिक्री भए, जसमध्ये १.१ करोड चीनमै बिक्री भए। परामर्शदाता संस्था रो मोशनका अनुसार चिनियाँ ब्रान्डहरूले आफ्नो देशबाहेक विश्वव्यापी विद्युतीय तथा प्लग–इन हाइब्रिड कारहरूको बिक्रीमा १० प्रतिशत हिस्सा ओगटेका छन्। यो आँकडा अझै बढ्ने अपेक्षा गरिएको छ।

चीनभित्रै कडा प्रतिस्पर्धा

पछिल्लो समय चीनभित्रै पनि विद्युतीय गाडीको उत्पादनमा प्रतिस्पर्धा चर्किँदै गएको छ। विभिन्न कम्पनीहरूले आ–आफ्नो ब्रान्ड उत्कृष्ट बनाउँदै विश्वबजारमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न लागिपरेका छन्। यसले उनीहरूलाई मुलुकभित्र मात्र नभई बाहिर पनि अवसर खोज्न प्रेरित गरेको छ। कतिपय चिनियाँ कम्पनीले आफ्ना ब्रान्डहरू पूर्वी एसिया र दक्षिण अमेरिका तिर विस्तार गरेका छन्।

आफ्ना उत्पादनहरू बाहिर पठाउँदा चिनियाँ कार कम्पनीहरूले सस्तो कामदारका साथै त्यहाँको सरकारबाट सहयोगसमेत पाइरहेका छन्।

स्विस बैंक यूबीएसले २०२३ को अन्त्यतिर प्रकाशित गरेको एक प्रतिवेदनअनुसार चिनियाँ कम्पनी बिवाइडीले युरोप र अमेरिकाका कार कम्पनीहरूभन्दा २५ प्रतिशत सस्तोमा कार बनाउन सक्छ।

सन् २००१ मा चीन विश्व व्यापार संगठनमा प्रवेश गरेपछि यसको अटोमोबाइल उद्योग तीव्र रूपमा विकसित हुँदै आएको छ। तर, सन् २०१५ मा जब चिनियाँ कम्युनिस्ट पार्टीले “मेड इन चाइना २०२५” योजना ल्यायो, तब यो प्रक्रिया अझ द्रुत गतिमा अघि बढ्यो। यो १० वर्षे योजनाले चीनलाई उच्च–प्रविधि उद्योगहरूमा अगाडि पुर्याउने लक्ष्य राखेको छ।

चिनियाँ ईभी पुराना कार निर्मातालाई विस्थापित गर्ने डर

चिनियाँ गाडी बनाउने कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा निकै छिटो र प्रभावशाली उपस्थिति बनाइरहँदा युरोपका पुराना र ठूला ब्रान्डहरूलाई सबैभन्दा बढी चिन्तित बनाइरहेको छ।

अन्य मुलुकहरूले चिनियाँ इलेक्ट्रिक कारहरूले विश्व बजार कब्जा गरेर पुराना कार निर्माता कम्पनीहरूलाई हानि पु¥याउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

अमेरिकी उत्पादन गठबन्धनले चिनियाँ इलेक्ट्रिक कारहरूले अमेरिकी उद्योगलाई पूर्ण रूपमा नष्ट गर्न सक्ने चेतावनी दिएको छ भने युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले चिनियाँ कम्पनीहरूले सरकारबाट धेरै सहयोग पाउँदा युरोपेली बजारलाई असमान बनाएको बताएकी छिन्।

यस्तै, अमेरिकाको तत्कालीन बाइडेन प्रशासनले ठूलो कदम चाल्दै चिनियाँ इलेक्ट्रिक कारमाथि लगाइने आयात कर २५ प्रतिशतबाट बढाएर १०० प्रतिशत बनाएको थियो। यसले चिनियाँ इलेक्ट्रिक कारहरूलाई अमेरिकी बजारमा बेच्न लगभग असम्भव बनाएको छ।

यस्तै, हाल चीनमाथि आयात कर बढाउँदै आयात प्रतिस्थापन गर्न खोजेको छ।

त्यस्तै, सन् २०२४ को अक्टोबरमा युरोपेली संघले चीनमा बनेका इलेक्ट्रिक कारहरूमा ३५.३ प्रतिशतसम्म अतिरिक्त कर लगाएको छ।

चीनले भने अमेरिका आफ्ना कम्पनीहरूलाई प्रतिस्पर्धाबाट बचाउन अन्यायपूर्ण तरिका अपनाएको आरोप लगाएको छ।

ईभीमा सुरक्षा, जासुसी र ह्याकिङको चिन्ता

चिनियाँ ईभी गाडीहरू निकै सस्ता र आकर्षक देखिए पनि, केही विज्ञहरूले सुरक्षाको कारणले तिनीहरूबारे सावधान रहन सुझाएका छन्।

अचेल कारहरू नक्सा वा जीपीएस प्रयोग गर्न इन्टरनेटमा जडान हुने गर्छन्। साथै, ड्राइभरहरूले प्रायः आफ्नो फोन कारसँग जडान गर्छन्। टेस्लाले “ओभर–द–एयर अपडेट्स” नामक फिचर ल्याएको छ, जसले कारको सफ्टवेयर टाढाबाट अपडेट गर्न सकिन्छ।

यसका कारण केही मानिसहरूले कारहरू ह्याक हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। ह्याकरहरूले कार प्रयोग गरेर मानिसहरूलाई जासुसी गर्न, कहाँ गएको छ भनेर ट्र्याक गर्न, वा कम्प्युटरको माध्यमबाट कार बन्द गर्न सक्ने उनीहरूको तर्क छ।

सेना र गुप्तचर नेताहरूलाई इलेक्ट्रिक कारमा बसेर महत्वपूर्ण कुरा नगर्न भनिएको एक बेलायती पत्रिकाले उल्लेख गरेको छ। चिनियाँ पाट्र्स भएका केही कारहरूलाई सेनाको संवेदनशील स्थानमा प्रतिबन्ध लगाइएको उक्त पत्रिकाले छापेको थियो।
गत महिना बेलायतको गुप्तचर संस्था एमआई ६ का पूर्व प्रमुखले चिनियाँ प्रविधिले कारजस्ता उत्पादनहरूलाई टाढाबाट नियन्त्रण गर्न सक्ने बताएका थिए। तर, चीनले भने सधैं यी आरोपहरू अस्वीकार गर्दै आएको छ। उसले यी दाबीहरू पूर्ण रूपमा झूठा र हास्यास्पद बताउँदै आएको छ।

हालसम्म चिनियाँ इलेक्ट्रिक कारहरूले बेलायत वा अन्य कुनै पनि देशको सुरक्षामा खतरा पु¥याएको भने कुनै प्रमाण छैन।

चिनियाँ ईभीलाई टक्कर दिन सस्ता ईभी बनाउँदै रेनल्ट

यसैबीच अहिले युरोपका कार निर्माता कम्पनीहरू सस्ता इलेक्ट्रिक कार बनाउन धेरै मेहनत गरिरहेका छन्। फ्रान्सको कार कम्पनी रेनल्ट पनि त्यस्तै एउटा कम्पनी हो। यो कारखानाले सन् १९७४ देखि रेनो कारहरू बनाउँदै आएको छ।

फ्रान्सको डुवाई कारखानामा धेरै रोबोटहरूले कारको शरीर बनाउन धातु जोड्छन्। मुख्य लाइनमा मेशिनहरूले ढोका, ब्याट्री, मोटरजस्ता भागहरू जोड्छन्। त्यसपछि मानिसहरूले हातले कार पूरा गर्छन्। यहाँ उत्पादन गरिएको रेनल्ट ५ ई–टेक अत्याधुनिक इलेक्ट्रिक कार हो।

यस कम्पनीले युरोपमा चिनियाँ ईभीहरूसँगै प्रतिस्पर्धा गर्दै सस्तो इलेक्ट्रिक कार बनाउने लक्ष्य राखेको छ।


प्रतिक्रिया दिनुहोस्