अमेरिका–चीन व्यापार टकरावमा ब्रेक, सम्झौताको नयाँ खाका तयार « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

अमेरिका–चीन व्यापार टकरावमा ब्रेक, सम्झौताको नयाँ खाका तयार



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीच व्यापार तनाव कम गर्ने उद्देश्यले लन्डनमा भएको दुईदिने वार्ता सफल भएको बताएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ’ट्रुथ सोशल’ मार्फत यस्तै जानकारी दिएका हुन् ।

उक्त वार्तापश्चात चीनले अमेरिकी कम्पनीहरूलाई म्याग्नेट र रेअर अर्थ धातु आपूर्ति गर्न सहमति जनाएको छ भने अमेरिका पनि चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने योजना फिर्ता लिने भएको छ।

यो वार्ता मे महिनामा भएको अस्थायी युद्धविरामपछि उत्पन्न समस्याहरू समाधान गर्न गरिएको हो। त्यतिबेला दुवै देशले एक–अर्काको सामानमा उच्च शुल्क लगाएर व्यापारलाई लगभग ठप्प बनाएका थिए।

यस्तै आगामी एक–दुई हप्ताभित्र अन्य देशहरूसँग पनि एकपक्षीय शुल्क दर तोक्ने राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले जुलाई ९ अघि नै नयाँ व्यापार सम्झौताको सर्तहरू पत्रमार्फत पठाइने जानकारी समेत दिएको बीबीसीले उल्लेख गरेको छ ।

यता, अमेरिकी अर्थसचिव स्कट बेशेन्टले केही आक्रामक शुल्कहरूलाई हाललाई रोक्ने तयारी भइरहेको जानकारी दिएका छन्। यसबाट अन्य देशहरुसँगको वार्ता पनि अघि बढ्न सक्ने अपेक्षा गरिएको छ ।

चीनसँग भएको नयाँ सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भएको फोन वार्तापछि वार्ताको सुरुवात भएको हो, जसमा दुबै देशका उच्च अधिकारीहरू सहभागी थिए।

जुन ५ को फोन वार्ता र जेनेभामा भएको बैठकमा राष्ट्रप्रमुखहरूबीच भएको सहमतिलाई कार्यान्वयन गर्ने ढाँचामा सैद्धान्तिक सहमति प्राप्त गरेको चिनियाँ उप–वाणिज्य मन्त्री ली चेङ्गगाङले बताए ।

वार्ताको सुरुवात अमेरिकाले चीनले स्मार्टफोनदेखि विद्युतीय गाडी बनाउन आवश्यक रेअर अर्थ खनिजको निर्यात ढिला गरेको भन्दै गरेको गुनासोपछि भएको हो। चीनले भने अमेरिका बाट लगाइएको प्रविधि प्रतिबन्ध र चिनियाँ विद्यार्थीहरूका लागि बनाइएको भिसा नीति प्रति असन्तुष्टि जनाएको छ।

समग्रमा हेर्दा, हालको सम्झौता मे महिनाको अस्थायी सम्झौतालाई अगाडि बढाउने प्रयास हो। त्यतिबेला अमेरिकाले चिनियाँ सामानमा लगाइएको शुल्क १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारेको थियो भने चीनले पनि अमेरिकी सामानमा लगाइएको कर घटाएर १० प्रतिशत बनाएको थियो। दुबै पक्षले ९० दिनभित्र पूर्ण व्यापार सम्झौता गर्ने सहमति गरेका थिए।


प्रतिक्रिया दिनुहोस्