दोलालघाट–चर्मावती सुरुङमार्ग: काठमाडौं–चीन फास्ट ट्रयाकको नयाँ सम्भावना « Arthapath.com
१ असार २०८२, आईतबार

दोलालघाट–चर्मावती सुरुङमार्ग: काठमाडौं–चीन फास्ट ट्रयाकको नयाँ सम्भावना



काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गरिएको ‘दोलालघाट–चर्मावती सुरुङ मार्ग’ काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्रयाक भएको सरोकारवालाहरूले बताएका छन् ।

चीन, भारत र नेपाललाई त्रिदेशीय राजमार्गले जोड्न तथा काठमाडौं र चीनको दूरी घटाउन सुरुङ मार्गले विशेष योगदान पुर्‍याउने भएकाले यसलाई फास्ट ट्र्याकका रूपमा अगाडि बढाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

बजेटले परिकल्पना गरेको सुरुङ मार्गको सम्भाव्यतामाथि छलफल गर्न नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रबाहेक दोलखाका सबै राजनीतिक पार्टीका नेतृत्व र प्रतिनिधिहरूले आम सर्वसाधारणलाई सहजताका साथै दोलखाको आर्थिक, धार्मिक र पर्यटकीय विकासका लागि दोलालघाट–चर्मावाती सुरुङ मार्ग ‘गेम चेञ्जर प्रोजेक्ट’ हुने बताए ।

कार्यक्रममा मन्त्री देवेन्द्र दाहालले नेपालसँग दुई ठूला र शक्तिशाली देश भारत र चीनसँगको कनेक्टिभिटी सृजना गर्न दोलालघाट–चर्मावती सुरुङ मार्ग कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । ‘मन्त्रालयले भौतिक पूर्वाधार विकासको सन्दर्भमा छुट्टै तीनवटा दृष्टिकोण बनाएको छ,’ मन्त्री दाहालले भने, ‘घना बस्ती भएको ठाउँ, बस्ती नभए पनि उत्पादन हुने ठाउँ र कनेक्टिभिटीलाई हेरेर विकासको काम अगाडि बढाउने योजना बनाएका छौँ । त्यसमध्ये कनेक्टिभिटीलाई हेरेर सिन्धुपाल्चोकको दोलालघाटदेखि दोलखाको चर्मावतीसम्म सुरुङ मार्गको परिकल्पना गरेका हौँ ।’

उनले यो सुरुङ मार्ग काठमाडौंलाई चीनसँग जोड्ने अर्को फास्ट ट्र्याक र महत्त्वपूर्ण छिमेकी देश चीनसँगको सम्बन्धमा कोसेढुङ्गा हुने पनि बताएका छन् । ‘यो परियोजना काठमाडौंलाई चीनसँग जोड्न र चीनसँगको सम्बन्धमा कोसेढुङ्गा सावित गर्न महत्त्वपूर्ण छ, त्यसकारण दोलालघाट नभइ भक्तपुरमै प्रवेश विन्दु बनाउन पनि सकिनेछ । अध्ययन र निर्माण मोडालिटीले यसको अवस्थाबारे थप सुनिश्चितता गर्नेछ,’ मन्त्री दाहालले भने ।

सुरुङको प्रारम्भिक कामका लागि अहिले विनियोजन गरिएको ४५ लाख रुपैयाँ अपुग रहेको स्वीकार गर्दै उनले आवश्यकता अनुसार जुनसुकैबेला जति पनि बजेट व्यवस्था गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता व्यक्त गरे । मुलुकको राजस्वबाट मात्रै आयोजामा रकम व्यवस्थापन असम्भव रहेको बताउँदै उनले दातृ निकायको सहयोग र सहुलियत वैदेशिक ऋण खोजी गरेर भए पनि यो सुरुङ मार्ग निर्माण गरिने विश्वास मन्त्री दाहालले व्यक्त गरेका छन् । सन् २०२६ मा नेपाल अल्पविकसितबाट मध्यमस्तरको विकाशील राष्ट्रमा परिणत हुनुअघि नै त्यस्तो सहयोग र ऋण खोजिसक्नुपर्नेमा समेत उनले जोड दिएका छन् । विकाशील राष्ट्रमा परिणत भइसकेपछि वैदेशिक ऋणको ब्याज बढ्ने र सस्तो हुँदैमा सम्झौता गरिसक्नुपर्ने भनाइ मन्त्री दाहालको छ ।

सबैको प्रतिबद्धता, सबैबीच एकता र स्थानीयको व्यापक चासो भएको ठाउँमा तीव्र विकास हुने बताउँदै उनले दोलखामा त्यस्तो एकमत देखिएकाले सुरुङ मार्ग सफल हुने विश्वास व्यक्त गरे । जनताले व्यापक चासो र सहभागिता जनाएकै कारण दक्षिण कोरियाको तीव्र विकास सम्भव भएको स्मरणसमेत उनले गराए । राजनीतिलाई विकाससँग जोड्न आवश्यक रहेको पछिल्लो आवश्यकतालाई दोलखा–काठमाडौं सम्पर्क मञ्चले पहल गरेकामा मन्त्री दाहालले धन्यवाद व्यक्त गरे ।

अन्तक्र्रिया कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले हरेक समस्याको समाधान रहेको चर्चा गर्दै जुनसुकै समस्या सृजना भए पनि समाधान निकालेर सुरुङ बनाउनुपर्ने धारणा व्यक्त गरे । यसले चीन र भारतलाई सन्तुलनमा राख्नुका साथै धर्म र सभ्यता जोगाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । चर्मावती भारतको गया भन्दा पनि महत्त्वपूर्ण स्थान रहेको चर्चा गर्दै पूर्वमन्त्री पोखरेलले सुरुङ मार्ग निर्माणपछि दोलखा धार्मिक पर्यटनको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलालघाट–चर्मावाती सुरुङलाई त्रिदेशीय राजमार्ग बनाउनुपर्ने र बीपी राजमार्गको विकल्पका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । ठूलो लगानीबाट निर्माण गरिएको वीपी राजमार्गमा देखिएको अस्तव्यस्ततालाई हेरेर पनि सुरुङ मार्गलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । आयोजनाको अध्ययन र अन्य प्रक्रियामा सम्बन्धित जनप्रतिनिधिहरूलाई सहभागी गराउन उनले सरकारका एजेन्सीहरूलाई सुझाव दिएका छन् ।

कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सरस्वती बस्नेतले विकासमा जनताको सहभागिता हुनुपर्ने र त्यसैका लागि दोलखा–काठमाडौं सम्पर्क मञ्चले पहलकदमी लिएको बताइन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका तत्कालीन सरोकार समिति सचिवसमेत रहेका एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेतले स्वदेशी लगानीमा असम्भव भनिएको तामाकोशी दोलखालीको बल र पहलमा बनाइएको चर्चा गर्दै सुरुङ मार्ग बनाउन पनि सबै एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद जिपछिरिङ लामाले नेपालजस्तो पहाडी भूगोलमा सडक मार्गको दूरी छोट्याउन सुरुङ मार्ग आवश्यक रहेको चर्चा गर्दै ऋण र अनुदानबाटै भए पनि यस्ता आयोजना निर्माणमा सरकारले तीव्रता दिनुपर्ने बताए । राज्यले पैसा छैन भनेर कुनै पनि विकासको कामबाट पछि हट्न नमिल्ने उनको भनाइ थियो । अर्का नेता नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति ताराबहादुर कोईरालाले दोलखाका लागि सुरुङ मार्ग आवश्यक रहेको र जसरी पनि बनाउनुपर्ने विचार व्यक्त गरे । तर, माथिल्लो तामाकोशीजसरी अस्वाभाविकरूपमा लागत बढाएर भ्रष्टाचारको अखडा बनाउन नहुनेमा कोईरालाले सचेत गराए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सहमहामन्त्री विजय खड्काले राजनीतिमा फरक पार्टी भए पनि दोलखाको विकासमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए । कुनै पनि आयोजना वा परियोजना सुरू गर्नुअघि त्यसको उपयोगिताबारे स्पष्ट हुनुपर्ने उनको धारणा छ । आयोजनाहरूले व्यापारमा योगदान र जनता लाभान्वितजस्ता कुरामा विशेष ख्याल गर्नुपर्ने नेता खड्काको भनाइ छ ।

कार्यक्रममा सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ९चाकुपाट० का निर्देशक दीप बाराहीले नेपालमा सुरुङ मार्गको इतिहास, वर्तमान अवस्था र दोलालघाट–चर्मावती सुरुङको सम्भाव्यताबारे प्रस्तुतिकरण गरेका थिए । यस्तै, सडक विभागका महानिर्देशन विष्णु शिबाकोटीले सो योजनाबारे विस्तृत जानकारी दिएका थिए । उनले निर्धारित समयमै आयोजनाको फिजिबिलिटी अध्ययन गरी लगानीसमेत सुनिश्चित गरिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रमुख राजनीतिक शक्ति एमाले र नेपाली कांग्रेसलगायत अन्य विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्वसहित उल्लेख्य सहभागिता थियो । माओवादीले भने सो कार्यक्रममा सहभागिता नजनाएको सम्पर्क मञ्चका अध्यक्ष नारद खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्