‘नाडा अटो शो २०२५’ भदौ ३ देखि ८ गतेसम्म, उद्घाटनका लागि अर्थमन्त्री पौडेललाई निम्ता

काठमाडौं । नाडा अटोमोबाइल डीलर्स एशोसिएशन (नाडा) ले आगामी भदौमा नाडा अटो शो २०२५ को आयोजना गर्ने भएको छ ।
आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडा अटो शो २०२५ को उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् ।
सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नाडा अटो शो २०२५ को उद्घाटनका लागि अर्थमन्त्री पौडेललाई निम्तो दिएको हो ।
अध्यक्ष चौधरीले नेपालका अटोमोबाइल क्षेत्रका लागि यसअघि ल्याइएको नीजि क्षेत्रमैत्री बजेटको प्रशंसा गरे । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए । यस्तो प्रकारका उद्योगलाई आवश्यक सरकारी सहयोग र सुविधाहरू उपलब्ध गराउने आवश्यकताको जोड दिएका छन्।
सोही अवसरमा अर्थमन्त्री पौडेलले अटोमोबाइल उद्योगका प्रतिनिधिहरूको आग्रहलाई सहर्ष स्वीकार गरेका छन् । उनले व्यवसायीहरूले सरकारलाई अधिक राजस्व उपलब्ध गराउने र उद्योगको विकासमा योगदान पुर्याएको बताए ।
बैठकमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको पनि उपस्थिति रहेको थियो ।