सुन, हीरामा नयाँ करले व्यवसायलाई ठुलो धक्का, मूल्य अभिवृद्धि कर छुटको सूचीमा राख्नुपर्ने माग « Arthapath.com
२ असार २०८२, सोमबार

सुन, हीरामा नयाँ करले व्यवसायलाई ठुलो धक्का, मूल्य अभिवृद्धि कर छुटको सूचीमा राख्नुपर्ने माग



काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले सरकारको आर्थिक वर्ष २०८२–८३ को बजेटका क्रममा गरिएका निर्णयहरूलाई तीव्र विरोध जनाएको छ ।

सरकारको निर्णयले लाखौं रोजगारी र करोडौं रुपैयाँको लगानी रहेको सुन, हिरा र बहुमूल्य पत्थरको व्यवसायलाई संकटमा पार्ने संघको बुझाई छ ।

सरकारले हिरा र बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर छुट हुने वस्तुको सूचीबाट हटाएको छ । सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ । यसले नेपाली बजारमा महंगो मूल्य र भन्सार महशुलको कारण उपभोक्ताहरू भारत जान बाध्य हुने संघले जनाएको छ । जसले गर्दा व्यवसायीहरूको रोजगारी र राजस्वमा गम्भीर प्रभाव पर्ने उनीहरुको ठहर छ ।

उच्च मूल्य र फराकिलो भन्सार अन्तरका कारण अनधिकृत सुनको आयात वृद्धि हुने जोखिम रहेको संघले जनाएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । भारत र नेपाल बीच खुला सिमाना रहेकोले अवैध कारोबार बढ्न सक्ने आशंका व्यक्त गरिएको छ ।

संघले सुनमा विलासिता कर र हिरा, बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धिकरको प्रहारका विरोध गर्दै यी प्रावधानहरू खारेज गर्नुपर्ने माग राखेको छ । व्यवसायीहरूको सुरक्षाका लागि स्पष्ट नीति र निर्देशिका अविलम्ब जारी गर्नुपर्ने माग गरेको छ ।

संघका अनुसार नेपालका लगभग २५ हजार व्यवसायीहरूको ३५ खर्ब रुपैयाँको लगानी रहेको सुनचाँदी, हिरा र बहुमूल्य पत्थरको कारोबारले ३ लाख प्रत्यक्ष रोजगारी र २५ लाख अप्रत्यक्ष रोजगारी सृजना गरेको छ ।

उनीहरुले सुनमा विलासिता कर खारेज गर्नुपर्ने, हिरा र बहुमूल्य पत्थरलाई मूल्य अभिवृद्धिकर छुटको सूचीमा राख्नुपर्ने, स्पष्ट नीति र निर्देशिका जारी गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्