पठाओकाे सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट

काठमाडौँ । राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक’ बिटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो विशेष छुटसहितको योजना क्याम्पस र अफिस जाने यात्रुलाई लक्षित गरिएको छ ।
पठाओ सेभर प्याकअन्तर्गत तीन प्याकेज उपलब्ध हुनेछन् । स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक ।
स्टुडेन्ट प्याकको मूल्य २९९ रुपैयाँ राखिएको छ । यो प्याकेज खरिद गर्ने विद्यार्थीले २६ वटा बाइक राइडसम्म प्रत्येकमा ४५ रुपैयाँ छुट पाउनेछन् । विद्यार्थीलाई सस्तो, भरपर्दो र नियमित यात्राको सजिलो समाधान दिने उद्देश्यले यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । प्याक खरिद गर्न चाहने विद्यार्थीले विद्यार्थी परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्नेछ ।
अफिस प्याकको मूल्य ४९९ रुपैयाँ तोकिएको छ । यस प्याकमा ग्राहकले १८ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ छुट, तीन वटा कार–लाइट राइडसम्म प्रत्येकमा १२० रुपैयाँ छुट र तीन वटा कार–प्लस राइडसम्म प्रत्येकमा १५० रुपैयाँ छुट पाउनेछन् ।
कम्पनीले ल्याएको सुपर सेभर प्याकको मूल्य ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यसअन्तर्गत १५ वटा बाइक राइडसम्म प्रत्येकमा ४० रुपैयाँ, पाँच वटा कार–लाइट राइडसम्म प्रत्येकमा १५०, पाँच वटा कार–प्लस राइडसम्म २०० रुपैयाँ छुट पाउनेछन् । साथै पाँच वटा फूड अर्डरमा १० प्रतिशत वा अधिकतम २०० सम्म छुट पाउनेछन् । नियमित राइड र फूड अर्डर गर्नेका लागि यो प्याक लक्षित गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार, सेभर प्याकले ग्राहकको खर्च बचतमा सहयोग गर्नेछ । ग्राहकहरूले यी प्याकेजहरू पठाओको वेबसाइटमा उपलब्ध ब्लग सेक्सनमार्फत खरिद गर्न सक्नेछन् ।
हाल सेभर प्याक बिटा भर्सनमा सार्वजनिक गरिएको छ । कम्पनीले ग्राहकको प्रतिक्रिया तथा सुझावका आधारमा आगामी दिनमा थप सुधार र परिमार्जन गर्ने समेत उल्लेख गरेको छ ।