प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरकाे उद्घाटन « Arthapath.com
६ असार २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरकाे उद्घाटन



काठमाडाैं । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माण सम्पन्न भएको बहुप्रतीक्षित फ्लाइओभर आज शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवतरूपमा यसको उद्घाटन गरेसँगै फ्लाइओभर सञ्चालनमा आएको हाे ।

चक्रपथमा बढ्दो सवारी चाप व्यवस्थित गर्न सरकारले ग्वार्कोमा ओभरपास निर्माण गरेको हो। यस ओभरपासको निर्माणसँगै चक्रपथको सातदोबाटो–कोटेश्वर सडकखण्ड हुँदै मंगलबजार, इमाडोल र लुभू क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरू अब सुरक्षित, सहज र व्यवस्थित रूपमा गुड्ने भएका छन्।

अब चक्रपथतर्फ गइरहेका सवारीहरू बिना अवरोध सिधै ओभरपासमाथिबाट चल्नेछन्, जबकि मंगलबजारदेखि इमाडोल वा इमाडोलबाट मंगलबजारतर्फ जाने सवारीहरू पुलमुनिबाट सञ्चालन हुनेछन्।

यो बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना काठमाडौं उपत्यकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अगाडि बढाएको हो।

२०७८ पुस २७ मा निर्माण थालिएको यो फ्लाइओभर दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, तय भएको अवधिभन्दा करिब डेढ वर्ष ढिलो गरी अन्ततः संरचना तयार भएको छ ।

निर्माण जिम्मा पाएको आशिष–समानान्तर–रेलिगियर जेभी कम्पनीले ‘ईपीसी’ ९इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन० मोडेलअनुसार करिब १७ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।


प्रतिक्रिया दिनुहोस्