उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कारबाट सम्मानित घाम पावर

काठमाडाैं । घाम पावरलाई सन् २०२५ को किलिङ कर्भ पुरस्कारबाट सम्मानित गरिएको छ, जुन विश्वभरबाट जलवायु परिवर्तन विरुद्धका प्रभावशाली समाधानहरूलाई प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।
घाम पावरले ग्रामीण समुदायहरू र उद्योगहरूलाई स्वच्छ तथा वितरण आधारित सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै नेपालको जलवायु सहनशीलता निर्माणमा पुऱ्याएको योगदानका लागि यो पुरस्कार प्राप्त गरेको हो ।
यो घोषणा केन्याको नाइरोबीमा आयोजना भएको टिडिइ काउन्टडाउन समिटमा गरिएको थियो, जहाँ विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागितामा जलवायु परिवर्तनविरुद्धका नवीन तथा क्रान्तिकारी विचारहरूको आदान(प्रदान गरिएको थियो ।
घाम पावर ऊर्जा श्रेणीमा विजेता घोषित भएको हो र सौर्य ऊर्जामार्फत नेपालका सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुलभ तथा स्वच्छ बिजुली पुऱ्याउने योजनाहरूलाई अझ विस्तार गर्नका लागि ५०,००० अमेरिकी डलर पुरस्कारस्वरूप प्रदान गरिएको हो ।
२५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरूमध्येबाट छानिँदा, घाम पावरले सौर्य प्रविधिलाई वित्तीय उपकरणहरूसँग संयोजन गरी आवश्यक व्यक्तिहरूलाई स्वच्छ उर्जा पहुँच दिने नवीन मोडेलका कारण विशेष पहिचान बनाएको थियो । ४,००० भन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको घाम पावरले व्यवसायहरूलाई मात्र होइन, खाद्य प्रणाली, स्वास्थ्य सेवा र जलवायु सहनशीलता बलियो बनाउन समेत महत्वपूर्ण योगदान पुयाउँदै आएको छ ।
यो सफलता नेपालको स्वच्छ उर्जा यात्राको गर्वको उपलब्धि हो र घाम पावरले विश्वव्यापी रुपमा जलवायु सहनशीलता र दिगो समाधानहरूमा देखाएको नेतृत्वलाई उजागर गर्छ । जलवायु संकट बढ्दै जाँदा, घाम पावरले समुदाय केन्द्रित र नवप्रवर्त आधारित समाधानहरू ल्याउँदै नेपालको कार्बन न्यूनीकरण र दिगो भविष्यतर्फको यात्रामा निरन्तर योगदान पुयाउँदै जाने प्रतिवद्धता गरेको छ ।