देशभरबाट १४ उत्कृष्ट कृषकलाई राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय पुरस्कार प्रदान « Arthapath.com
११ असार २०८२, बुधबार

देशभरबाट १४ उत्कृष्ट कृषकलाई राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय पुरस्कार प्रदान



काठमाडौं । सरकारले सातै प्रदेशबाट छानिएका १४ जना उत्कृष्ट कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार प्रदान गरे।

हरेक प्रदेशबाट दुईजनाका दरले चयन गरिएका कृषकहरूमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता र रमेश साह, मधेस प्रदेशबाट भरत कुमार यादव र हिराबहादुर थापा मगर, बागमती प्रदेशबाट चेतप्रसाद ढकाल र दयाराम मचामसी, गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ र बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र सुवास कुर्मी, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी र लोकबहादुर थापा रहेका छन्।

पुरस्कारस्वरूप हरेक कृषकलाई दुई लाख रुपैयाँ प्रदान गरिएको छ। उत्कृष्ट कृषकको छनोट सातै प्रदेशका कृषि मन्त्रालयमार्फत गरिएको हो।

राष्ट्रपति पौडेलले कृषि क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिँदै देशमै उत्पादन र रोजगारी बढाई आयात घटाउने र निर्यात बढाउने कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्