नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन « Arthapath.com
१३ असार २०८२, शुक्रबार

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन



धनगढी । नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गरिएको छ ।

शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेश कार्यालयको उद्घाटन गरे ।
पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताए ।

प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै लगानी मैत्री वातावरण बनाउन आवश्यक प्रक्रियाहरू अगाडि बढाएको बताए । सुदूरपश्चिममा थुप्रै लगानीका सम्भावना रहेको भन्नुहुँदै लगानी भित्र्याउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाई छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न इन्क्यूवेसन सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई गरेको प्रस्तावमा मुख्यमन्त्री शाहले सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि परिसंघले काम गर्दै आईरहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको उनको भनाई छ ।

उनले नेपाल उद्योग परिसंघले लिएको स्वदेशी उद्योगको प्रबद्र्धन, उद्योगमैत्री नीति नियम तथा उद्योगी व्यवसायीहरुका हकहितका आवाजलाई सुदूरपश्चिम उद्योग परिसंघले थप बलियो रुपमा उठाउने विश्वास व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष भीम घिमिरेले प्रदेश परिसंघले प्रदेश एवं स्थानीय उद्योगी व्यवसायीहरुको हकहितका लागि प्रदेश सरकारलाई तथ्यपरक रुपमा नीतिगत सुझाव दिन सफल हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठले प्रदेश सरकारसँग नजिक रहेर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तेज शंक भट्ट, उपाध्यक्षहरुमा सुनिता सुरी, सुनिल श्रेष्ठ छन् । यता, कोषाध्यक्षमा लालबहादुर शाही छन् । यस्तै कार्यसमिति सदस्यहरुमा हिरा भण्डारी, जगदीशचन्द्र भट्ट, कलेन्द्र शाही, दीप रावत, हेमन्त पौडेल र डिल्लीराज जोशी रहेका छन् ।

प्रदेश लगानी सम्मेलन सम्बन्धमा परिसंघ र मुख्यमन्त्रीबीच छलफल

यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा मूख्यमन्त्री शाहले नेपाल उद्योग परिसंघसँग छलफल गरेका छन् ।

धनगढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वरभूमी रहेको बताए । लगानीकर्ता ल्याउन सहयोग गर्न परिसंघलाई आग्रह गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेशमा रहेको लगानीका क्षेत्रबारे लगानीकर्तालाई जानकारी गराउन लगानी सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

लगानी सम्मेलन सफल बनाउन परिसंघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो छलफलमा परिसंघका उपाध्यक्ष भीम घिमिरे, सीएनआई सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव, सचिवहरु, परिसंघका महानिर्देशक घनश्याम ओझालगायत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस्