‘ग्रे लिस्ट’ बाट बाहिरिन क्यासिनो नियमनको बाटो, अब जोखिमको आधारमा निरीक्षण « Arthapath.com
१४ असार २०८२, शनिबार

‘ग्रे लिस्ट’ बाट बाहिरिन क्यासिनो नियमनको बाटो, अब जोखिमको आधारमा निरीक्षण



काठमाडौं । अब नेपालका चार र पाँचतारे होटलमा सञ्चालनमा रहेका क्यासिनोहरूले आफ्ना आम्दानी, खर्च लगायत सम्पूर्ण कारोबार विवरण प्रत्येक महिनासरकारी निकायमा पेश गर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो क्षेत्रमाथिको निगरानी कडाइ गर्न ‘जोखिमको आधारमा क्यासिनोको स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरीवेक्षण दिग्दर्शन २०८२’ सार्वजनिक गर्दै यो प्रावधान लागू गरेको हो ।

यो दिग्दर्शन सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ७ बमोजिमको निर्देशक समितिको निर्णयअनुसार ल्याइएको सुधारात्मक कार्ययोजनाको हिस्सा हो । जसको उद्देश्य नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु रहेको छ ।

दिग्दर्शन कार्यान्वयनमा आएसँगै पर्यटन विभागबाट अनुमति प्राप्त सबै क्यासिनोहरू अब जोखिमको वर्गीकरणका आधारमा अनुगमनको दायरामा पर्नेछन् ।

पर्यटन विभागले अब क्यासिनोहरूको जोखिमको तह मूल्यांकन गरी तिनीहरूलाई उच्च, मध्यम र न्यून जोखिम समूहमा वर्गीकरण गर्नेछ । त्यसका लागि स्थलगत निरीक्षण, ग्राहक स्रोतबाट लिइएको सूचना, सामाजिक सञ्जालमा सार्वजनिक भएका जानकारी तथा क्यासिनोहरूले बुझाएका प्रतिवेदनहरूको विश्लेषण गरिने छ ।

अनुगमन प्रक्रिया अन्तर्गत विभागले वार्षिक कार्ययोजना बनाएर स्थलगत निरीक्षण गर्नेछ। सो क्रममा क्यासिनोहरूले वित्तीय कारोबार, ग्राहक परिचय तथा जोखिम, व्यवस्थापकीय कमजोरी, नीति नियमको पालना, आन्तरिक सुरक्षा उपाय, र अनलाइन प्रतिवेदन प्रणालीसम्बन्धी विस्तृत विवरण फारममा भर्नुपर्नेछ ।

क्यासिनोमाथिको अनुगमन स्थलगत मात्र नभइ गैरस्थलगत ढंगले पनि गरिनेछ। त्यसमा अस्वाभाविक वा शंकास्पद कारोबार, प्राविधिक प्रणालीको परीक्षण, आन्तरिक नियन्त्रण व्यवस्था, कर्मचारीको कार्यविभाजन र जिम्मेवारी तथा ग्राहकसँगको कारोबार मूल्यांकन हेर्ने व्यवस्था गरिएको छ ।

जोखिमको-आधारमा-क्यासिनोको-स्थलगत-निरीक्षण-र-गैर-स्थलगत-सुपरीवेक्षण-दिग्दर्शन-२०८२_xitmir9


प्रतिक्रिया दिनुहोस्