बुद्ध एयरको भरपर्दो यात्रा : व्यापारमा रफ्तार, कर्जा रेटिङमा चम्किलो सफलता

काठमाडौं । नेपालको निजी हवाई सेवा क्षेत्रको पर्याय बनिसकेको बुद्ध एयरले देशको आन्तरिक आकाशमा मात्र होइन, व्यापारिक सूचकांकमा पनि उचाइ छोएको छ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्धको व्यापार निरन्तर उकालो लागेको छ ।
हवाई यात्रामा सर्वसुलभता, समयमै सेवा र नेटवर्क विस्तारमार्फत यात्रुको मन जित्न सफल बुद्ध एयरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
पछिल्लो समय विदेशी पर्यटक आगमनमा आएको बढोत्तरी, सेवा समयपालना र सहज टिकट प्रणालीले नै व्यापार बढेको कम्पनीले जनाएको छ । पर्यटनमैत्री उडान र नियमितताले बुद्ध एयरलाई आम यात्रुको रोजाइमा पु¥याएको दावी छ ।
कम्पनीको व्यापार वर्षेनि उकालो लागेको छ । सन् २०२४ मा कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीको व्यापारमा सन् २०२१ यता लगातार छलाङ मारेको देखिन्छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख र सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
नेपालको हवाई क्षेत्रमा पहिलो निजी लगानीमा सञ्चालित बुद्ध एयरले व्यापारको आकार बढाउँदै गएको छ । निरन्तरको व्यापारिक प्रगति, वित्तीय सुदृढता र यात्रुको भरोसाले बुद्ध एयरलाई नेपालको आन्तरिक उड्डयन बजारको निर्विकल्प नेतृत्वकर्ता बनाएको छ ।
बुद्ध एयरको नेपालमा सबैभन्दा ठुलो र लामो इतिहास बोकेको कम्पनी हो । कम्पनीले नेपाली हवाई क्षेत्रमा साढे दुई दशक अघिदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत छन् । कम्पनीको बस्नेतकै धेरै स्वामित्व छ ।
नेपाली हवाई बजारमा बुद्ध एयरको हिस्सा आधा भन्दा बढी ओगटेको छ । बजार हिस्सा र यात्रु संख्या बढ्दै गएको कारण यसको व्यापारमा पनि सुधार भएको हो । पछिल्लो समयमा विदेशी पर्यटकको आगमनमा आएको बढोत्तरीले नै व्यापार पनि बढेको कम्पनीले जनाएको छ ।
नेपालकै अग्रणी निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बैंकिङ कर्जासम्बन्धी रेटिङमा उल्लेखनीय सुधार हासिल गरेको छ । २०२४–२५ को पहिलो अर्धवार्षिक वित्तीय विवरणका आधारमा इक्रा नेपालले बुद्ध एयरलाई दीर्घकालीन कर्जाका लागि ‘एलए’ रेटिङ प्रदान गरेको छ ।
त्यस्तै, अल्पकालीन कर्जाका लागि ‘एवान’ रेटिङ दिइएको छ, जुन अल्पकालीन ऋण भुक्तानी क्षमतामा उच्चतम मापदण्डको संकेत हो । यसअघि, कम्पनीले दीर्घकालीन कर्जामा ‘एलएमाइनस’ र अल्पकालीन कर्जामा ‘एटूप्लस’ रेटिङ पाएको थियो ।
नयाँ रेटिङले बुद्ध एयरको वित्तीय अनुशासन, स्थिर आम्दानी र ऋण तिर्ने क्षमतामा व्यापाक सुधार आएको देखाउँछ ।
बुद्धले ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ अर्थात् एक करोड ८७ लाख डलरको दीर्घकालीन र अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ३० करोड ९१ लाख दीर्घकालीन र ८७ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।
हाल बुद्धसँग १८ वटा जहाज छन् । कम्पनीसँग २ वटा एटीआर–४२ र १६ वटा एटीआर–७२ वटा विमान छन् ।
बुद्ध एयरले काठमाडौँबाट माउन्टेन, धनगढी, सुर्खेत, नेपालगन्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, तुम्लिङटार,विराटनगर र भद्रपुरमा उडान गरिरहेको छ । भारतको काठमाडौंबाट बनारस र कोलकाता उडान सेवा दिइरहेको छ।