१० महिनामै मनिपालले गर्यो दुई अर्बको व्यापार, लाभांशले बढायो दबाब

काठमाडौं । नेपाल मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपले पछिल्लो समयमा आम्दानी, मुनाफा र व्यापारमा उल्लेखनीय सुधार गरेको छ ।
पछिल्लो १० महिनामै कम्पनीले पौने दुई अर्बको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार सन् २०२५ को १० महिनामै कम्पनीले १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
गत वर्ष सन् २०२४ मा मात्रै कम्पनीले १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो सन् २०२३ को तुलनामा भने २५.२६ प्रतिशत धेरै हो । २०२३ मा कम्पनीले १ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
यस्तै २०२१ मा १ अर्ब ७ करोड ७० लाख, सन् २०२२ को १ अर्ब ९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा १ अर्ब ९३ करोड र अल्पकालीन ५७ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले कास्कीको पोखरामा आफ्ना सेवा प्रवाह गर्दै आएको छ । गण्डकी प्रदेशको केन्द्रमा रहेको कम्पनीले काठमाडौ विश्वविद्यालयसँग आबद्ध रही एमबीबीएस, बीएससी नर्सिङ लगायत अन्य स्नातक र स्नातकोत्तर तहका चिकित्सा तथा स्वास्थ्य विज्ञान सम्बन्धी पाठ्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
शुरूमा भारतको मणिपाल ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि त्रिपल बि (बिबिबि) रेटिङ प्राप्त) को लगानीमा स्थापना भएको संस्थाको सम्पूर्ण स्वामित्व सन् २०२१ को अगष्ट महिनामा नेपाली कम्पनी बिएबिओ होल्डिङ्स प्रा. लि.ले खरिद गरेको थियो । त्यसपछिको सन् २०२३ फेब्रुअरी १२ मा बिएबिओ होल्डिङ्स मणिपालमै गाभिएको छ ।
संस्थाले हाल पोखरामा ५०० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ, जसमा हाल ३०० शय्याको लागि मात्र सरकारी अनुमति प्राप्त छ । बाँकी २०० शय्या पनि छिट्टै अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।
सुविधा सम्पन्न अस्पताल, मेडिकल कलेजको विस्तार र काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यबाट आम्दानीमा बृद्धि भएको उल्लेख छ । बिरामी संख्या, बेड भर्ना दर र प्रति बिरामी आम्दानी बढेपछि समग्र कारोबारमा सकारात्मक प्रभाव परेको हो ।
मनिपाल शिक्षण अस्पतालले गत वर्षको नाफाको २४० प्रतिशत लाभांश वितरण गरेपछि नगद प्रवाहमा संकटको संकेत देखिएको छ ।
यद्यपि, कम्पनीले गत वर्षको नाफाको २४० प्रतिशत लाभांश वितरण गरेपछि नगद प्रवाहमा असन्तुलनको चिन्ता देखिएको छ । इक्रा नेपालका अनुसार अग्रिम शुल्कको स्पष्ट योजना नहुँदा पूँजीगत खर्चमा प्रयोग हुने सम्भावनाले जोखिम बढाएको छ । विद्यार्थीबाट अग्रिम लिइने शुल्कको स्पष्ट योजना नहुँदा पूँजीगत खर्चमा प्रयोग हुने सम्भावना बढेको हो । यसले नगद प्रवाहमा असन्तुलन ल्याउने जोखिम बढाएको छ ।
सरकारी स्वास्थ्य बीमाबाट भुक्तानीमा ढिलाइ, बढ्दो प्रतिस्पर्धा, सरकारी अस्पतालको सुधार र शुल्क तथा सिट व्यवस्थापनमा नियामक कडाइले कम्पनीको भविष्यमा असर पार्न सक्ने देखिएको छ । कम्पनीमा अटोवेएज ग्रुपको ८३ प्रतिशत र बतास ग्रुपको १७ प्रतिशत स्वामित्व रहेको छ ।