मनसुन सक्रिय हुँदा देशभर १५ प्रतिशत रोपाइँ सकियो, सबैभन्दा कम मधेश प्रदेशमा « Arthapath.com
१५ असार २०८२, आईतबार

मनसुन सक्रिय हुँदा देशभर १५ प्रतिशत रोपाइँ सकियो, सबैभन्दा कम मधेश प्रदेशमा



काठमाडौं। मनसुन चाँडै सक्रिय हुँदा यस वर्ष मुलुकभर वर्षे धानको रोपाइँ चाँडै सुरु भएकाे छ । कृषि विभागकाे तथ्यांक अनुसार हालसम्म देशभर १५.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

अहिलेसम्म देशभर २ लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। यस आर्थिक वर्ष २०८२/८३ मा कुल १३ लाख ९५ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ, जहाँ ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, लुम्बिनीमा ९.७ प्रतिशत र मधेश प्रदेशमा ३.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

गत वर्षको यही समयमा १७.२ प्रतिशत रोपाइँ भइसकेको थियो। यो वर्ष समग्रमा रोपाइँको गति केही ढिलो देखिएकाे हाे ।

गत आर्थिक वर्ष २०८०/८१ मा १४ लाख २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको थियो। सो वर्ष धान उत्पादनमा पनि ४ प्रतिशत वृद्धि भएको थियो।


प्रतिक्रिया दिनुहोस्