खस्किँदै वाइवाईको व्यापारः लगातार घट्दै सिजी फुड्सको आम्दानी, नाफा र बजार हिस्सा दुवैमा दबाब

काठमाडाैं । पछिल्लो दुई वर्षयता वाईवाई चाउचाउका लागि लोकप्रिय सिजी फुड्सको व्यापार खस्किँदै गएको छ । सन् २०२३ मा मा ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको सिजी फुड्स व्यापार सन् २०२५ को ६ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा खुम्चिएको छ ।
सन् २०२४ मा सिजी फुड्सको कुल ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
आर्थिक वर्ष २०२४ मा कम्पनीको आम्दानी ११ प्रतिशतले घटेको थियो, र आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनामा पनि वार्षिक आधारमा ६ प्रतिशत गिरावट देखिएको हो। यसको प्रमुख कारण नुडल्स बिक्रीमा कमी र नयाँ उत्पादनको ठोस बजार विस्तार नहुनु कम्पनीले जनाएको छ ।
पछिल्लो समय ‘कोरियन स्टाइल’ वा ‘स्पाइसी’ नुडल्सको लोकप्रियता चुलिँदै जाँदा पारम्परिक ‘ब्राउन’ वाइवाईले प्रतिस्पर्धा गर्न नसकेको देखिएको छ। बजारमा नयाँ ब्रान्डहरू तीव्र रूपमा उदाउँदै गर्दा वाइवाईले आफ्नो पुरानो मोडल परिवर्तन गर्न ढिलो गर्यो। यद्यपि कम्पनीले नयाँ स्पाइसी उत्पादनहरू ल्याउने प्रयास थालेको पनि बजारमा खासै प्रभाव जमाउन छैन।
यस्तै आर्थिक वर्ष २०२४ मा कम्पनीको सञ्चालन मुनाफा मार्जिन ९.९ प्रतिशत थियो भने चालू वर्षको पहिलो ९ महिनामा यो घटेर ६ प्रतिशतमा सीमित भएको छ।
कम्पनीले लगातार उच्च डिभिडेन्ड वितरण गर्दै आएको छ। आर्थिक वर्ष २०२४ मा कम्पनीले अघिल्लो वर्षको नाफाको १५५ प्रतिशत र चालू वर्षको ७८ प्रतिशत बराबर डिभिडेन्ड वितरण गरेको थियो। यसले आन्तरिक लगानीको स्रोतमा दबाब सिर्जना गर्दै कम्पनीको दीर्घकालीन वित्तीय लचिलोपनमा असर पार्न सक्ने देखिको छ।
सिजी फुड्स ९नेपाल० लिमिटेडले बैंकिङ कर्जाको प्रयोजनका लागि इक्रा नेपालमा गराएको रेटिङमा इक्राले पुनः ‘एवान’ रेटिङ कायम राखेको छ। कम्पनीले पहिलोपटक सन् २०२३ को फेब्रुअरीमा अल्पकालीन कर्जाका लागि इक्रा नेपालबाट रेटिङ लिएको थियो।
‘एवान’ रेटिङ अल्पकालीन कर्जाका लागि इक्रा नेपालले दिने सबैभन्दा उच्च रेटिङ हो, जसले कम्पनी समयमै आफ्नो वित्तीय दायित्वहरू चुक्ता गर्न सक्षम र भरपर्दो रहेको संकेत गर्छ।
यस रेटिङलाई इक्राले त्यसपछि पनि निरन्तर कायम राख्दै आएको छ । सन् २०२४ को मेमा गरिएको पुनः मूल्यांकनमा पनि यही रेटिङ दिइएको थियो, र पछिल्लोपटक २०२५ को जुनमा पनि रेटिङ ‘रिअफर्म’ गरिएको छ। कम्पनीले पछिल्ला तीन वर्षयता करिब ९९ करोड ५५ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाको लागि यो रेटिङ लिँदै आएको छ।