शेयर निष्काशन प्रक्रियाको लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्ति « Arthapath.com
१६ असार २०८२, सोमबार

शेयर निष्काशन प्रक्रियाको लागि परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल नियुक्ति



काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटेड र राईजिङ्ग हाइड्रोपावर लिमिटेडको बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

एक कार्यक्रमका बिच राईजिङ्ग हाइड्रोपावरका तर्फबाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थागत परामर्श सेवा सहित आवश्यक पूँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि उक्त सम्झौता गरिएको हो ।

राइजिङ हाइड्रोपावर कम्पनी प्रालि नेपालको जलविद्युत् क्षेत्रमा दिगो विकास र स्वदेशी स्रोतको सदुपयोगमार्फत ऊर्जा उत्पादनमा समर्पित एक अग्रणी संस्था हो । कम्पनीको स्थापना २०६२ साल फागुन २२ गते भएको हो ।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत् आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गीगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ। यस आयोजनाको व्यावसायिक सञ्चालन मिति (सिओडी) २०८१ भदौ २ गते रहेको छ ।

२०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट कम्पनीले प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाईड्रो होल्डिङ्ग लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरेको छ ।

आ.व. २०८२/८३ भित्र सर्वसाधारणलाई शेयर निष्काशन गरी रु. ४० करोड चुक्ता पूँजी पु¥याउने कम्पनीले जानकारी गराएको छ । यस कम्पनीले अन्य विभिन्न पाँच वटा जलविद्युत् कम्पनीहरुमा लगानी प्रर्वधन गर्ने समेत लक्ष्य रहेको जानकारी गराएको
छ ।


प्रतिक्रिया दिनुहोस्