एलजी नेपालले सार्वजनिक गर्यो ‘अफ्याक्सिनेट इन्टेलिजेन्स’

काठमाडौं। एलजी नेपालले मानव–केन्द्रित कृत्रिम बुद्धिमत्ता (एआई) को नयाँ अवधारणा “अफ्याक्सिनेट इन्टेलिजेन्स” सार्वजनिक गर्दै प्रविधि र मानवीय संवेदनशीलता बीचको सम्बन्धलाई नयाँ आयाम प्रदान गरेको छ।
कम्पनीले जुन २७ र २८ तारिखमा दुई दिने विशेष कार्यक्रमको आयोजना गरी आफ्नो नवीनतम वैश्विक नवप्रवर्तन प्रस्तुत गर्दै नेपालमा प्रविधिको भविष्य कस्तो देखिन्छ भन्ने विषयमा आम उपभोक्तालाई प्रत्यक्ष अनुभव गराएको हो।
पहिलो दिन डिलरहरूका लागि र दोस्रो दिन सर्वसाधारण, मिडिया तथा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्वहरूका लागि आयोजित कार्यक्रममा एलजीले आफ्ना आगामी पुस्ताका एआई प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्यो। कार्यक्रममा प्रयोगकर्ताले नयाँ प्रविधिहरू केवल बुझ्ने होइन, संवेदना र उत्तरदायित्वका साथ व्यवहार गर्ने खालका अनुभवहरू प्राप्त गरे।
“अफ्याक्सिनेट इन्टेलिजेन्स” एलजीको त्यस्तो दृष्टिकोण हो जसमा कृत्रिम बुद्धिमत्ता केवल यन्त्रगत क्षमतासम्म सीमित नरही संवेदनशील र उत्तरदायी बन्छ। यसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ आत्मीय बनाउने लक्ष्य लिएको छ। एलजीको यो अवधारणा नवप्रवर्तनमा रहेको गहिरो प्रतिबद्धताको प्रतीक हो।
यस विशेष अवसरमा एलजीले नेपालमा आफ्नो ४० वर्षे सफल यात्राको पनि उत्सव मनाएको छ। सन् १९८८ मा चौधरी ग्रुपसँगको सहकार्यमा सुरु भएको एलजीको यात्रा आज नेपाली घरपरिवारको विश्वासिलो ब्रान्डको रूपमा स्थापित भएको छ। “गोल्ड स्टार” को नामबाट सुरु भएको यो सम्बन्ध समयसँगै थप मजबुत र प्रविधिकै नेतृत्व गर्ने दिशामा अग्रसर बन्दै आएको छ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले एलजीको प्रारम्भिक यात्रा, नेपाली बजारमा त्यसको प्रभाव र डिलर तथा साझेदारहरूको निष्ठापूर्ण योगदानलाई स्मरण गर्दै विशेष धन्यवाद व्यक्त गरे।
कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका म्यानेजिङ डाइरेक्टर फावियन कुन्हो ली, बंगलादेशका म्यानेजिङ डाइरेक्टर जेराल्ड सुन्घो चुन र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीजस्ता विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति थियो।
दोस्रो दिन सर्वसाधारणका लागि खुला गरिएको कार्यक्रममा सहभागीहरूले एलजीको नवीन एआई प्रविधिको प्रत्यक्ष अनुभव लिने मौका पाए। “एआई मिसन च्यालेन्ज” मा सहभागी भई रमाइला पुरस्कार जित्न पाएका आगन्तुकहरू उत्साहित देखिन्थे। मिडियाकर्मीहरू तथा आमन्त्रित पाहुनाहरूको उपस्थिति कार्यक्रमको आकर्षणमा थप प्रेरणा बनेको थियो।
यस ऐतिहासिक यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने, “हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। एलजी सधैं नवीनता र अत्याधुनिक प्रविधिमा अग्रणी रहँदै आएको छ। अब ‘अफ्याक्सिनेट इन्टेलिजेन्स’ सँगै एआई प्रविधि अझ मानवीय, अझ संवेदनशील र अझ अर्थपूर्ण बन्नेछ।”
एलजी र सिजीबीचको सहकार्य केवल व्यवसायिक सम्बन्ध होइन, प्रविधिमा नवप्रवर्तन र उपभोक्ताप्रति समर्पणको अद्वितीय मिसाल हो। “अफ्याक्सिनेट इन्टेलिजेन्स” कार्यक्रम केवल प्रदर्शनी मात्र नभई, प्रविधि र मानवता बीचको समर्पण, संवेदना र स्मार्ट भविष्यप्रतिको साझा प्रतिवद्धताको उत्सव बनेर सम्पन्न भएको छ।