सरकारी सेवा सुविधा फिर्ता गर्ने पूर्वराष्ट्रपति भण्डारीकाे निर्णय « Arthapath.com
१६ असार २०८२, सोमबार

सरकारी सेवा सुविधा फिर्ता गर्ने पूर्वराष्ट्रपति भण्डारीकाे निर्णय



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट प्राप्त पूर्व राष्ट्र प्रमुखको हैसियतअनुसारको सरकारी सेवा सुविधा नलिने निर्णय गरेकी छिन् ।

करिब १० वर्षपछि नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले आफूलाई प्राप्त सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेकि हुन्।

सक्रिय राजनीतिक भूमिकामा रहँदा सरकारी सुविधा लिँदा नैतिक प्रश्न उठ्ने भन्दै उनले अब ती सुविधा औपचारिक रूपमा फिर्ता गर्न लागेकी छन्। यस सम्बन्धमा गृह मन्त्रालयलाई औपचारिक पत्र पठाउने तयारी गरिएको छ।

गृह मन्त्रालयका अनुसार भण्डारीलाई मासिक रुपमा एक उपसचिव स्तरका स्वकीय सचिव र कार्यालय सहयोगीको सेवा उपलब्ध गराउने व्यवस्था थियो, जसका लागि मासिक डेढ लाख रुपैयाँ छुट्याइएको थियो। हाल रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन्।

त्यस्तै, सुरक्षाकर्मीहरूका लागि बसोबासको व्यवस्था गर्न भाडामा घर लिइएको छ। गृह मन्त्रालयले भण्डारीलाई प्रदान गरिएको सुरक्षाकर्मी भने प्रोटोकल अन्तर्गतको भएकाले फिर्ता गर्न नमिल्ने बताएको छ।

पूर्वराष्ट्रपति भण्डारीले अन्य पदाधिकारीहरूलाई जस्तै सरकारी सवारी सुविधा नलिए पनि मासिक २०७ लिटर पेट्रोल सुविधा लिँदै आइरहनुभएको थियो। सुरक्षाकर्मीहरूको बसोबासको लागि आवश्यक घरभाडा पनि सरकारकै तर्फबाट प्रत्यक्ष घरधनीलाई उपलब्ध गराउने गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्