६७ वर्षको ‘उडान यात्रा’मा नेपाल एयरलाइन्सः ऐतिहासिक जहाजबाट वाइडबडीसम्मको कथा « Arthapath.com
१७ असार २०८२, मंगलबार

६७ वर्षको ‘उडान यात्रा’मा नेपाल एयरलाइन्सः ऐतिहासिक जहाजबाट वाइडबडीसम्मको कथा



काठमाडौं। नेपालको राष्ट्रिय गौरवका रूपमा रहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो ६७ औं वार्षिकोत्सव मनाउँदै छ।

सन् १९५८ को जुलाई १ मा जम्मा २८ सिट भएको ‘डोग्लस डिसी–३ डाकोटा’ जहाजबाट सेवा सुरु गरेको निगम आज दुईवटा वाइडबडी ए३३० विमानसहित अन्तर्राष्ट्रिय आकासमा उडिरहेको छ।

६७ वर्षको लामो यात्रामा निगमले दर्जनौं आरोह–अवरोह पार गरेको छ। हाल भारतको नयाँदिल्ली, मुम्बई र बेङ्लोरदेखि जापानको नारिता, मलेसिया, थाइल्यान्ड, दोहा, दुबई र रियादसम्म नियमित अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। यो सेवा दुई थान वाइडबडी ए३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत सञ्चालन हुँदै आएको छ।

आन्तरिक बजारमा कमजोर उडान, तर अझै उड्ने सपना बाँकी

निगमकाे आन्तरिकतर्फ भने अवस्था फरक छ। जम्मा दुईवटा ट्वीनअटर विमानले दुर्गम क्षेत्रका यात्रुहरूलाई सेवा दिइरहेका छन्।

विमानको संख्या सीमित भएकाले धेरै गन्तव्यमा सेवा विस्तार गर्न नसकेको निगमले स्वीकारेको छ। आन्तरिक बजारमा उडानको पहुँच कमजोर भए पनि अन्तर्राष्ट्रिय साख विस्तारका लागि प्रयासरत रहेको निगमको दाबी छ।

एक समय धूमधामका साथ वार्षिकोत्सव मनाउने परम्परा बोकेको निगम पछिल्ला वर्षमा सामान्य कार्यक्रममै सीमित भएको छ।

यद्यपि, यस वर्षको ६७औं वार्षिकोत्सवमा भने केही उत्साह थपिएको छ। सातदोबाटोस्थित एन्फा मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिता, टेबल टेनिस र कविता वाचनजस्ता विविध गतिविधिहरूले उत्सवलाई जीवन्त बनाएको छ।

वित्तीय बोझ र व्यवस्थापनको गुनासो
निगमको इतिहासमा जति गर्वका पल छन्, उति नै चुनौतीका पनि। करिब ५० अर्ब रुपैयाँ बराबरको ऋणभार बोकेको निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋणमार्फत वाइडबडी खरिद गरे पनि ती विमानहरू सुरुवाती समयमा पूर्ण रूपमा सञ्चालनमा आउन सकेका थिएनन्।

भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा, व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता मुद्दाहरूले निगमको साखमा असर पारेकाे थियाे।

निगमकाे विद्यमान अवस्था सुधारका लागि पुनः अध्ययन समितिहरू बने पनि ती सुझावहरू कार्यान्वयनमा पुग्न सकेका छैनन्। मन्त्रालयले सार्वजनिक गरेका सुधार योजनाहरू अझै कागजमै सीमित छन्।

तर अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तरराष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धनले उकासिएको निगमले जनाएकाे छ।

निगमका प्रवक्ता सुवास डाँगीले हाल सबै चारवटा अन्तर्राष्ट्रिय विमान पूर्ण क्षमतामा सञ्चालनमा रहेकाे र नयाँ अन्तर्राष्ट्रिय गन्तव्य थप्ने तयारीसमेत भइरहेको जानकारी दिए।

निगमले आज बिहान केन्द्रीय कार्यालय परिसरमा प्रभातफेरीसहित वार्षिकोत्सव मनाएको छ। ६७ वर्षको यात्राले गौरव र चुनौती दुवै बोकेको नेपाल एयरलाइन्सको उडान अझ अग्लो आकासतर्फ पुग्ने आशा भने अझै बाँकी छ।


प्रतिक्रिया दिनुहोस्