संघीय युवा उद्यमशीलता सम्मेलन २०८२ सम्पन्न, ३५० युवा उद्यमीको उत्साहजनक सहभागिता « Arthapath.com
१७ असार २०८२, मंगलबार

संघीय युवा उद्यमशीलता सम्मेलन २०८२ सम्पन्न, ३५० युवा उद्यमीको उत्साहजनक सहभागिता



काठमाडाैं । युवा उद्यमशीलता प्रवर्द्धनका लागि राष्ट्रिय युवा परिषदद्वारा आयोजित संघीय तहको युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन २०८२ सम्पन्न भएको छ।

यसअघि विराटनगर, जनकपुर, पोखरा र सुर्खेतमा प्रादेशिक सम्मेलन सम्पन्न गरिसकेपछि परिषद्ले संघीयस्तरको सम्मेलन राजधानी काठमाडौंमा आयोजना गरेको हो।

सोमबार आयोजित उद्घाटन समारोहमा उपराष्ट्रपति रामशहायप्रसाद यादवले सम्मेलन उद्घाटन गर्दै युवाको क्षमता राष्ट्रनिर्माणमा लगाउन आह्वान गरे।

युवाको सोच, सीप, ज्ञान र ऊर्जा सदुपयोग गर्न सके मात्र समृद्धिको सपना साकार हुने भन्दै उनले जलविद्युत्, पर्यटन र जडिबुटी जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै दिगो विकासमा जोड दिनुपर्ने उल्लेख गरे।

मन्त्रीहरूका प्रतिबद्धताः रोजगारी, कर्जा र निर्यातमुखी अर्थतन्त्र
सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले पछिल्लो पाँच वर्षमा ६० लाख युवा विदेशिएका र ५० लाख स्वदेश फर्किएको तथ्य प्रस्तुत गर्दै सिप, उद्यम र रोजगारीलाई एकसाथ अघि बढाउनु पर्ने बताए। उनले सरकारले “आन्तरिक रोजगारी प्रवर्द्धन दशक” मनाउने तयारी गरिरहेको जानकारी पनि दिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले युवालाई लक्षित गर्दै स्टार्टअप कर्जाअन्तर्गत ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको सहुलियत ऋण दिने कार्यक्रम सुरु गरिएको जानकारी गराए।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आयात–मुखी अर्थतन्त्रलाई निर्यात–मुखी बनाउन युवालाई उद्यमशीलताको बाटोमा अघि बढाउन यस्ता सम्मेलनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

समृद्धि, सशक्तिकरण र सम्भावनाका बहस

‘समृद्धिका साझा सवाल’ विषयक प्यानल छलफलमा सांसदहरू पदम गिरी, उदय शमशेर राणा, माधव सापकोटा र सोविता गौतमले उद्यमशीलताको भूमिकाबारे धारणा राखे।

त्यस्तै ‘युवाका लागि अबको निकासः रोजगारी, उद्यमशीलता र सिप विकास’ शीर्षकमा आयोजित अर्को सत्रमा उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उद्योग महासंघकी पूर्वअध्यक्ष भवानी राणा र बैंकर अनिल केशरी शाह सहभागी थिए। प्यानलको अध्यक्षता मन्त्री शरद भण्डारीले गरेका थिए।

स्टार्टअप, सहुलियत ऋण र वित्तीय पहुँचबारे राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, नबिल बैंकका सीईओ मनोज ज्ञावाली र उद्यम अभियन्ता रञ्जित आचार्यले आ–आफ्नो प्रस्तुति दिएका थिए।

प्रभावकारी कार्यान्वयनमा जोड

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले संघीय, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित युवा लक्षित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

“स्टार्टअप, सहुलियत कर्जा र वित्तीय पहुँच जस्ता बहुआयामिक विषयमा केन्द्रित यो सम्मेलन, केवल छलफलको थलो होइन, समाधानको सुरुवात हो,” उनले भने।

परिषद्का अनुसार देशभरबाट ३५० जना युवा उद्यमीहरू अनलाइन आवेदनमार्फत छनोट भई सम्मेलनमा सहभागी भएका थिए, जसले विविध सत्रहरूमा आफ्ना अनुभव र सोच साझा गरे।


प्रतिक्रिया दिनुहोस्