ब्याजदर नघटाएको भन्दै ट्रम्पको आक्रोश, फेरी मागे अमेरिकी केन्द्रीय बैंक प्रमुख पावेलको राजीनामा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलको राजीनामा माग गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “धेरै ढिला भइसक्यो, पावेलले तुरुन्तै राजीनामा दिनुपर्छ।” यसअघि पनि उनले पटक–पटक पावेललाई राजीनामा दिन दबाब दिँदै आएका थिए।
पावेललाई ट्रम्पले नै सन् २०१८ मा फेडरल रिजर्भको नेतृत्व सुम्पिएका थिए। तर त्यसयता ब्याजदर घटाउने विषयमा दुईबीच लगातार मतभेद रहँदै आएको छ। ट्रम्पको दाबी छ कि पावेलले ब्याजदर घटाउन असफल भएका कारण अमेरिकी आर्थिक वृद्धि प्रभावित भएको छ।
यद्यपि, पावेलले भने ब्याजदर घटाउन नसक्नुमा ट्रम्पकै भन्सार तथा व्यापार नीतिहरू दोषी रहेको बताएका छन्।
“यदि ट्रम्पका भन्सार नीतिहरूको असर अर्थतन्त्रमा नपरेको भए, केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुन्थ्याे,” पावेलले मंगलबार एक सार्वजनिक कार्यक्रममा भने।
गत जुन १९ मा ट्रम्पको ब्याजदर घटाउन गरेको दवावलाई बेवास्ता गर्दै फेडले अल्पकालीन ब्याजदर ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म स्थिर राख्ने घोषणा गरेकाे थियाे ।डिसेम्बरयता फेडले ब्याजदरमा कुनै कटौती गरेको छैन।
ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट संवैधानिक अधिकार छ वा छैन भन्ने विषय अझै अस्पष्ट छ। तथापि, ट्रम्पले उनको आलोचना गर्दै निरन्तर राजीनामा माग गरिरहेका छन्।
फेडरल रिजर्भका अध्यक्ष पावेलको कार्यकाल २०२६ मे १५ मा सकिँदैछ। आजको मितिले अध्यक्षको रूपमा उनको कार्यकाल सकि झण्डै १० महिना बाँकी छ ।
तर, उनी फेडरल रिजर्भ बोर्डको सदस्यका रूपमा भने २०२८ जनवरी ३१ सम्म रहनेछन्। त्यस अर्थमा, बोर्ड सदस्यको रूपमा अझै २ वर्ष ७ महिना जति बाँकी छ।