लबिम मलको व्यापारमा बढोत्तरी, मध्यम जोखिममा पनि समयमै दायित्व पूरा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित लबिम मलको व्यापार वृद्धि भएको छ ।
विशाल बजार मल्टिप्लेक्स अन्तर्गत सञ्चालनमा रहेको यो मलले एकै वर्ष साढे ३५ करोड बराबरको व्यापार गरेको छ ।
कम्पनीले गत वर्ष सन् २०२४ मा ३५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो । यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा भने ३.१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष ३४ करोड ५० लाख रुपैयाँ व्यापार गरेको हो ।
विगत केही वर्षयता कम्पनीको कारोबार स्थिररूपमा वृद्धि भइरहेको छ । सन् २०२२ मा २८ करोड १० लाख र सन् २०२१ मा २० करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । कम्पनीका अनुसार व्यापारको यो वृद्धिदर कोरोनापछिको पुनरुत्थानसँगै हरेक वर्ष करिब २० प्रतिशतले बढ्दै गएको हो ।
लबिम मलको औपचारिक सञ्चालन सन् २०१७ देखि सुरु भए पनि व्यवसायिक रुपमा कम्पनीले सन् २०१६ देखि नै बजारमा पाइला टेकेको थियो । पाटन मल्टिपल क्याम्पससँग २५ वर्षका लागि लिजमा लिएको जग्गामा मलको संरचना निर्माण गरिएको हो ।
कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कूल ६३ करोड ६ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा ६० करोड ६ लाख दीर्घकालीन कर्जाको लागि र बाँकी ३ करोड अल्पकालीन कर्जाको लागि हो ।
इन्फोमेरिक्स नेपालले दीर्घकालीन बैंक सुविधालाई (डबल बी) र अल्पकालिनका लागि बैंक सुविधालाई ‘ए फोर’ रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम मध्यम स्तरको रहेको संकेत गर्छ, जसअनुसार समयमै वित्तीय दायित्वहरू पूरा गर्न सक्ने क्षमता भए पनि आर्थिक वा व्यवसायिक परिस्थितिमा केही कमजोरी आउन सक्ने सम्भावना रहन्छ ।
कम्पनीका प्रमुख सेयरधनी राजेश कुमार सिद्दी हुन्, जसको कम्पनीमा करिब ३७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।